बागमतीमा आयोजित तेस्रो मेयर कपको उपाधि वडा नं. ५ लाई

404
प्रतियोगिताको बिजेता वडा नं. ५ । (तस्बीर सौजन्य : राजु लो तामाङ)

बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा आयोजित तेस्रो मेयर कपको उपाधि वडा नं. ५ ले जितेको छ ।

मंगलवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ८ लाई एक–शुन्य गोलले पराजित गर्दै वडा नं. ५ च्याम्पियन बनेको हो । वडा नं. ५ का लागि खेलको दोस्रो हाफमा जर्सी नं. ११ का वुद्ध लामाले गरेको एक मात्रै गोल उपाधिका लागि पर्याप्त रह्यो ।

जितसँगै वडा नं. ५ ले ५१ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपबिजेता बनेको वडा नं. ८ ले भने २५ हजार नगद, दोस्रो शिल्ड र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ ।
वडा नं. ८ यसअघि दोस्रो मेयर कपमा पनि उपबिजेतामै सीमित हुनुपरेको थियो । यो पटकको बिजेता वडा नं. ५ पहिलो मेयर कपमा दोस्रो नै भएको थियो । पहिलो र दोस्रो संस्करणको उपाधि भने लगातार वडा नं. २ ले जितेको थियो ।

मंगलवारको फाइनल खेलमा वडा नं. ५ का आदर्श खड्का म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताभर वडा नं. ८ का बाबुराम खत्री उत्कृष्ट गोलरक्षक, वडा नं. ५ का सुमन राई उत्कृष्ट डिफेन्स, वडा नं. ५ का विमल घिसिङ उत्कृष्ट खेलाडी र वडा नं. ५ कै सुरज राई सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले पुरस्कार वितरण गरेका संचारकर्मी राजु लो तामाङले जनाए । यस पटकको मेयर कप बागमती नगरपालिकाको सहयोगमा ऊँ युवा क्लबले आयोजना गरेको थियो ।