रेडियो एकताले राखेको शिविरमा १७५ जनाको निःशुल्क आँखा परीक्षण, २६ जनामा मोतिया बिन्दु

239
शिविरको उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य बेची लुंगेली र साथमा कार्यक्रममा उपस्थित लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का र अन्य अतिथिहरु ।

लालबन्दी – सामुदायिक रेडियो एकताले सोमवार संचालन गरेको १ दिने निःशुल्क आँखा शिविरमा १७५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

रेडियोको १२ औँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा लालबन्दी नगरपालिका–५, स्थित मेजरगन्जमा आयोजित शिविरमा महिला र पुरुष गरी १७५ जनाको आँखा जाँच गरिएको हो । त्यसमध्ये २६ जनामा मोतिया बिन्दु फेला परेको छ ।

मोतिया विन्दुका बिरामीलाई मंगलवार बागमतीस्थित स्वास्थ्य चौकी कर्मैयामा निःशुल्क अप्रेसनको व्यवस्था समेत मिलाइएको रेडियोले जनाएको छ । मोतिया बिन्दु फेला परेका सबै जनाको शिविरमै एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको ‘नेगेटिभ’ रिपोर्ट आएको रेडियोले जनाएको छ ।

आँखा शिविरमा बिरामीको आँखा जाँच हुँदै ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा रेडियोले यस भेगका आँखाका विरामीहरुलाई लाभ पु¥र्याउने उद्देश्यले निःशुल्क शिविर आयोजना गरेको हो । शिविरमा लालबन्दी, ईश्वपुर, हरिपुर, कविलासी, हरिवन र बागमती नगरपालिकाबाट आँखाका बिरामीहरु उपचारका लागि आएका थिए ।

बिरामीहरुलाई औषधि समेत निःशुल्क प्रदान गरिएको छ । शिविरको सोमवार बिहान प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गरेकी थिईन् । रेडियोका अध्यक्ष बेनी बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का, लायन्स क्बलका केन्द्रीय गर्भनर केशव पाण्डे, आन्तरिक राजस्व कार्यालय लालबन्दीका प्रमुख डोरराज सुनुवार, सहायक वन अधिकृत राकेश रन्जन दास, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साह, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निर्मल थापा, सहकारी बैंक हरिवनका शाखा प्रवन्धक सरोज सापकोटा, भरतपुर आँखा अस्पतालका डा. रमेश घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

रेडियोका व्यवस्थापक प्रकाश मैनालीले संचालन गरेका शिविर उद्घाटन समारोहमा उपाध्यक्ष गोविन्द बहादुर महतले स्वागत मन्तव्य राखेका थिए ।