सर्लाहीमा एकपछि अर्को मन्त्रीको आगमन, भौतिक पूर्वाधार मन्त्री यादव कविलासी आएर फर्किइन्

421
भौतिक पूर्वाधार मन्त्री रेणु कुमारी यादव र जसपाका अन्य नेताहरु ।

कविलासी – सर्लाहीमा संघीय सरकारका मन्त्रीहरुको आगमन बाक्लिएको छ ।

जिल्लामा एक साताको अन्तरालमा तीन जना मन्त्री जिल्ला आइसकेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव बिहिवार दिउँसो कविलासी नगरपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् ।

उनी कविलासी नगरपालिका–४ सिर्सियामा जनता समाजवादी पार्टीको प्रदेश समिति सदस्य विन्दु कुमारी यादवको आमाको श्रद्धान्जली कार्यक्रम र कविलासी नगरपालिका–१० सलेमपुरमा प्रदेश सभा सदस्य अशोक यादवले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा सरिक भएका हुन् । कार्यक्रममा प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव र पार्टीका अन्य संघीय तथा प्रदेश सांसदहरुको समेत उपस्थिति रहेको थियो ।

यसअघि वुधवार मात्रै अर्थमन्त्री जनार्दन शर्मा रामनगर गाउँपालिकामा माओवादी नेता शिवपुजन रायका पिताको श्रद्धान्जली सभा र बरहथवास्थित हीरापुर ब्यारेजको निरीक्षणमा सहभागी हुन आएका थिए । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव पनि एक हप्ता लामो गृह जिल्लाको बसाईपछि भर्खरै संघीय राजधानी काठमाण्डौं फर्किएका छन् ।

यसैगरी, गएको वुधवार नै गृहमन्त्री बालकृष्ण खाँड सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास र नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गर्न आउने कार्यक्रम थियो । तर तीन दिनको अविरल वर्षापछि मौसम प्रतिकूल बनेको भन्दै उनको कार्यक्रम भने तत्कालका लागि स्थगित गरिएको छ ।