उद्धारको काम पहिलो प्राथमिकतामा : अर्थमन्त्री शर्मा

237
श्रद्धान्जली कार्यक्रममा उपस्थित अर्थमन्त्री शर्मा र अन्य ।

गडहीया – अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका पिता अमिरिलाल रायको श्रद्धान्जली सभामा सहभागी हुन वुधवार सर्लाहीको रामनगर गाउँपालिका–५, बिर्ताटोल आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितहरुको उद्धारको काम भइरहेको बताए । बेमौसमी वर्षाले तराई, पहाड सबैतिर जनधनको व्यापक क्षति गरेको प्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाई छ ।

हेलिकप्टर चढेर सर्लाही आएका अर्थमन्त्री शर्माले परिवर्तन नचाहनेहरुले अहिले माओवादी पार्टी र यसका अध्यक्ष प्रचण्डमाथि आक्रमण गरिरहेका बताए । पार्टीको स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले चौतर्फी घेराबन्दीका बाबजुद आफूहरु देशलाई अग्रगमनतर्फ लैजान र परिवर्तनहरु संस्थागत गर्न लागि परेको बताए ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवको अध्यक्षतामा पार्टीको तर्फबाट श्रद्धान्जली सभा आयोजना गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । साबिक सिसौट, गडहीया डुमरिया र गहडीया गाविसको गरी चारपटक गाविस अध्यक्ष भएका अमिरिलालको असोज २३ गते निधन भएको थियो ।

श्रद्धान्जली सभामा सहभागी हुनुअघि मन्त्री शर्माले बरहथवा नगरपालिकास्थित निकै पुरानो हीरापुर ब्यारेजको निरीक्षण समेत गरेका छन् । मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, पूर्व सांसद नरेन्द्र साह लगायतले उक्त ब्यारेजको अवस्थाबारे अवगत गराए ।

मेयर महतो र पूर्व सांसद साहले किसानलाई सहज रुपमा सिँचाईको प्रवन्ध मिलाउन हीरापुर र मानपुर ब्यारेजको मर्मत सम्भारका लागि पहल गरिदिन अर्थमन्त्री शर्मासँग आग्रह गरेका छन् ।

(गोरखापत्र अनलाईनबाट साभार)