बालकलाई ठक्कर दिएर फरार मोटरसाइकल ९ दिनपछि पक्राउ

333
सांकेतिक तस्बिर ।

लालबन्दी – सर्लाहीको नवलपुरमा एक बालकलाई गम्भीर घाईते हुनेगरी ठक्कर दिएर फरार भएको मोटरसाइकल प्रहरीले ९ दिनपछि नियन्त्रणमा लिएको छ ।

असोज २१ गते घटनास्थापनाका दिन लालबन्दी–२, नवलपुर जुटपानीस्थित लर्डब्राईड वीजडम एकेडेमी अगाडि बस चढ्न खोज्दा सोही विद्यालयको यूकेजीमा अध्ययनरत ७ वर्षीय बालक मुकेश बराईलीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिएर फरार भएको थियो । लक्ष्मण बराईलीका छोरा मुकेशको अहिले पनि वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार चलिरहेको छ ।

उक्त दुर्घटनापछि फरार रहेको मोटरसाइकल निरन्तर खोजी गर्नेक्रममा सुक्रवार हरिवन नगरपालिका–८, पूरानो बजारबाट पक्राउ गर्न सफल भएको लालबन्दीका प्रहरी प्रमुख (इन्सपेक्टर) निर्मल थापाले जानकारी दिए । मोटरसाइकलसँगै दुर्घटना हुँदा पछाडि सवार व्यक्ति पनि पक्राउ परेका छन् । चालक भने अझै फरारै छन् ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए । विभिन्न स्थानका सीसीटीभी फूटेजका आधारमा निरन्तर खोजी गर्नेक्रममा दुर्घटना गराएर भागेको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।

पूर्व–पश्चिम राजमार्ग र भित्री सडकहरुमा पर्याप्त मात्रामा सीसीटीभी नहुँदा यसरी दुर्घटना गराएर भाग्ने सवारी साधन पक्राउ गर्न निकै मुस्किल पर्ने गरेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।