लालबन्दी वडाध्यक्ष कप फुटबलको उपाधि परवानिपुरलाई

370

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा आयोजित चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १६ परवानिपुरले जितेको छ ।

साेमबार साँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ६ लाई २–० गोलले स्तब्ध पार्दै वडा नं. १६ परवानिपुर च्याम्पियन बनेको हो । वडा नं. १६ को जितमा दुवै गोल रमेश बस्नेतले गरेका थिए । बस्नेत नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

जितसँगै वडा नं. १६ ले ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित पहिलो शिल्ड उचालेको छ । उपबिजेता वडा नं. ६ ले भने ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै, प्रतियोगितामा वडा नं. ३ अनुशासित टिम घोषित भएको छ । उसलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।

प्रतियोगितामा वडा नं. १६ का साजन विक उत्कृष्ट गोलकिपर, वडा नं. ६ का दीपक थापा उत्कृष्ट डिफेन्डर, वडा नं. १६ का सतिस थापा उत्कृष्ट मिडफिल्डर र वडा नं. ६ का सुनिल लामा उत्कृष्ट फरवार्ड बनेका छन् । प्रतियोगिताको बिजेता, उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का र पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा जिवेश्वर युवा क्लबले आयोजना गरेको प्रतियोगितामा लालबन्दी नगरपालिकाका १७ वटै वडाले सहभागिता जनाएकाे आयाेजक क्लबका दिपेन्द्र बुढाथाेकीले जानकारी दिए ।

यसैबीच, हरिपुरस्थित महावीर जनता माविको प्रांगणमा आयोजित चौंथो जिल्ला स्तरीय थारु भलिबल प्रतियोगिताको उपाधि बरहथवा हिरापुरले हात पारेको छ । साेमबार सम्पन्न फाइनल खेलमा एभरेष्ट एकेडेमी लालबन्दीलाई पराजित गर्दै हिरापुर बिजेता बनेको हो । बिजेता हिरापुरले १५ हजार र उपबिजेता एभरेष्ट एकेडेमीले १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा सम्पन्न प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका समितिका केन्द्रीय सदस्य आशनारायण चौधरीले जानकारी दिए ।

उता, ईश्वरपुर नगरपालिका वडा नं. ४ सागरनाथ, आफ्नै मैदानमा आयोजित अप्सरा आचार्य मेमोरियल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साेमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ६ लाई २–१ गोलले पराजित गर्दै वडा नं. ४ उपाधि नजिक पुगेको हो ।

वडा नं. ४ ले अब मंगलबार हुने वडा नं. १० र ८ बीचको दोस्रो सेमिफाइल खेलको बिजेतासँग आगामी बुधवार उपाधिका लागि खेल्ने छ । समाजसेवी एवं कांग्रेस नेता मनोज आचार्यको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।