माओवादी नेता श्रेष्ठले गरे पत्रकारहरुसँगै मोटरबोट शयर

323
सोमबार साँझ बामगती स्थित निर्माणाधिन तालमा मोटरबोट शयर गर्दै नेता नारायणकाजी श्रेष्ठ तथा पत्रकार एवं राजनैतिक नेताहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सत्ताधारी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले केपी ओली सरकार विरुद्ध बनेको दलहरुको गठबन्धन कायमै रहने बताएका छन् ।

सोमबार साँझ बागमती स्थित निर्माणाधिन तालमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता श्रेष्ठले आगामी निर्वाचनमा चाँही गठबन्धन कायम रहने नरहने खुलाउन चाहेनन् । ‘यो गठबन्धन हामीले प्रतिगमन विरोधी संघर्षका क्रममा जन्म दिएका हौं’, नेता श्रेष्ठले भने, ‘त्यसकारणले प्रतिगामी कदम असफल भएको छ, कमसे कम यो संसद्को पूरा कार्यकाल भर गठबन्धनले नै सत्ता सञ्चालन गर्छ र सफल निर्वाचन समेत गराउँछ ।’ गठबन्धन सरकारले निर्वाचन गराउने उल्लेख गरेपनि निर्वाचनमा तालमेल हुने नहुने बारे भने उनले केही बताएनन् । पछिल्लो समय अखिल क्रान्तिकारीको अध्यक्षमा चयन भएकी पंचा सिंह निर्वाचित नै मान्नुपर्ने उल्लेख गर्दै पार्टी तथा पार्टी निकट भातृसंस्थाका पदाधिकारी चयनमा सकेसम्म लोकतान्त्रिक प्रकृया अबलम्बन सूरु भईसकेको दाबी गरे ।

पत्रकार सम्मेलन लगतै नेता श्रेष्ठले पत्रकार तथा पार्टी नेताहरुसँग तालमा मोटरबोट शयर समेत गरेका थिए । पत्रकार सम्मेलन सकिएलगतै नेता श्रेष्ठले ‘लौ तपाईहरुसँगै ताल घुमौं भन्दै आग्रह गरेपछि’ पत्रकार तथा स्थानीय राजनैतिक दलका नेताहरुसँगै मोटरबोट शयर गरिएको थियो । तालमा मोटरबोट शयर दोस्रो पटक भएको भन्दै नेता श्रेष्ठले पत्रकार मित्रहरुसँगै भएको शयरले थप प्रफुल्लित बनाएको बताए ।

त्यस्तै सोमबार दिउँसै सर्लाहीको बरहथवामा दशैँ, तीहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता श्रेष्ठले संघ, प्रदेश र स्थानीय निर्वाचन यही सरकारले गराउने बताएका छन् । नेता श्रेष्ठले यो संसद पूरा आयुसम्म रहने दाबी समेत गरे । उनले तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसद विघटन गरेर प्रतिगमनको बाटोतर्फ अघि बढेकाले पार्टी टुक्रिएको बताए । आफूहरु कम्युनिष्टहरुबीच एकता गरी मुलुकलाई समाजवादतर्फ लैजान अग्रसर भइरहेको अवस्थामा ओली बाधक बनेको श्रेष्ठको आरोप छ ।

नेता श्रेष्ठले पार्टीका समर्थक, शुभचिन्तक र कार्यकर्ताहरुलाई संगठन विस्तार तथा आगामी पुससम्मको पार्टीको आन्तरिक कार्यतालिकाबारे जानकारी गराएका छन् । बरहथवा नगरपालिका वडा नं. ७ को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबाट २५० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका पार्टीका नेता अर्जुन पन्तले दाबी गरे । कार्यक्रममा पार्टी नेताहरु अच्युतम काफ्ले, कमल बुढाथोकी, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, युवा नेता सन्देश श्रेष्ठ, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, बागमती नगरपालिकाका मेयर भरत थापा लगायतको उपस्थिती रहेको थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले सोमबार बिहान संविधान सभासद् शिवपुजन रायका बुवा एवं पाँच पटकसम्म गडहिया डुमरिया गाविसको अध्यक्ष भएका अमिरी राय यादवको निधनमा दुःख व्यक्त गर्दै उनकै निवासी रामनगर गाउँपालिका–५, बिर्तामा पुगेर श्रद्धान्जली व्यक्त गरेका छन् । यस्तै, नेता श्रेष्ठले सोमबार नै बसबरियामा पार्टीका नेता कार्यकर्ताहरुलाई सम्वोधन गरेका थिए । आईतबार श्रेष्ठले लालबन्दीमा पार्टीको नगर पार्टी कार्यालय उद्घाटनसँगै वाइसिएलको नगर सम्मेलनलाई सम्वोधन समेत गरेका थिए । दुई दिनसम्म सर्लाही बसेका नेता श्रेष्ठ साँझ जनकपुर हुँदै जहाजबाट काठमाडौं फर्किएका छन् ।