सागरनाथमा अप्सरा आचार्य मेमोरियल कप फुटबल सुरु

281
रेफ्रीलाई फूटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख आतिर्थि मनोज आचार्य सहितका अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा सोमबारदेखि अप्सरा आचार्य मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कांग्रेस नेता मनोज कुमार आचार्यले आफ्नी स्वर्गिय आमा अप्सराको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गरेका हुन् । श्री सन सागरनाथ युवा क्लबसँग समन्वय गरी आयोजना गरिएको फुटबल प्रतियोगिताको सोमबार उद्घाटन गरिएको हो ।

उद्घाटन खेलमा वडा नं. ४ सागरनाथले वडा नं. ५ सखुवनीलाई २–१ गोलले पराजित गरेको छ । यही असोज २६ गतेसम्म संचालन हुने प्रतियोगितामा ईश्वरपुर नगरपालिकाभित्रका १५ वटै वडाले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगद सहित ट्रफि हात पार्नेछन् । कांग्रेस नेता आचार्य आफैले सोमबार दिउँसो प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा वडाध्यक्ष टंकबहादुर रुम्बा लामा, नेपाली कांग्रेस ईश्वपुरका सभापति बेचु प्रसाद तिमल्सिना, नेकपा एकीकृत समाजवादीका रुपनारायण सिंह दनुवार, कृष्ण उप्रेती लगायतको उपस्थिती रहेको थियो । आर्चायले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिता खेल्ने खेलाडीमध्ये बीचमै पढाई छाडेर स्नातक सम्म अध्ययन गर्न इच्छुक दुई जना खेलाडीलाई आफैले अध्ययन गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

यसैबीच, लालबन्दी नगरपालिका–१, नवलपुरमा जारी चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नं. २ र वडा नं. १० बिजयी भएका छन् । आजको पहिलो खेलमा वडा नं. २ ले वडा नं. ७ लाई शुन्यका विरुद्ध तीन गोल र दोस्रो खेलमा वडा नं. १० चन्द्रपुरले वडा नं. १४ नारायण खोलालाई शुन्यका विरुद्ध दुई गोल गर्दै पराजित गरेका हुन् ।

लालबन्दी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा जिबेश्वर युवा क्लबले नवलपुरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गरिरहेको हो । असोज २५ गते फाइनल खेल हुने प्रतियोगितामा नगरभित्रका १७ वटै वडाले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेतालाई ६६ हजार ६ सय ६६ रुपैयाँ, उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ र अनुशासित टिमलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।