वर्षाले पूर्व–पश्चिम राजमार्ग क्षतविक्षत, मर्मत संभारमा बेवास्ता

323
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चापिनी पूल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – तीन दिन देखि परेको वर्षाले सर्लाही स्थित पूर्व–पश्चिम राजमार्ग थप क्षतविक्षत बनेको छ ।

यसअघि देखि नै भत्केर जीर्ण बनिरहेको राजमार्ग र पुलहरुमा थप ठूल्ठूला खाडल परेकाले सवारी आवागमन प्रभावित भइरहेका छन् । अझ रातको समयमा त गाडी चलाउनै नसक्ने अवस्था रहेको चालकहरुले गुनासो गरेका छन् । खाल्डाखुल्डी छल्न खोज्दा सवारी अनियन्त्रित भई पल्टिने र अर्को सवारीसँग ठोक्किने जोखिम पनि उत्तिकै रहेको चालकहरु बताउँछन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीदेखि बाँकेसम्मकै सडक खराब छ । खाल्डाखुल्डीका कारण सवारी साधन धेरै नै बिग्रन थालेका यातायात व्यवसायीले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेका राजमार्गका पुलहरुको अवस्था अहिले झनै दयनीय बनेको छ । लखन्देही र चापिनी पुलमा सडक कार्यालयले नै केही समयअघि एक लेयर कालोपत्रे नै उप्काएपनि मर्मत संभार नहुँदा सवारी व्यवसायी र यात्रुले सास्ती खेप्नु परिरहेको छ । ती दुईपुलमा सवारी पास गराउनै मुस्किल पर्ने गरेको चालकहरु बताउँछन् । सवारीको अत्यधिक चाप हुने साँझपखको समयमा पुलबाट गाडी कटाउन ट्राफिक प्रहरीनै परिचालन गर्नुपरिरहेको छ । लखन्देही र चापिनी पुलमा घण्टौंसम्म पनि जाम हुने गरेको छ । खाडलका कारण सबारी साधन ढल्कने र विपरित दिशाबाट क्रस हुने सबारीसाधनबीच एक आपसमा ठक्कर लाग्ने भएपछि पूलमा एकतर्फी मात्र सबारी साधनहरु चल्ने गरेका छन् ।

तीन दिनको वर्षापछि सर्लाहीको पूर्व–पश्चिम हुलाकी राजमार्ग समेत अत्यन्त खराब भएको छ । वर्षांैदेखि जरजर रहेको हुलाकी सडक अहिले हिलाम्मे हुनुका साथै पानी जमेर पोखरीमा परिणत भएको छ । यसैगरी, हरिवन–कौडेना, फूलजोर–त्रिभुवननगर, सलेमपुर–मदनपुर, गैर–पिपरिया लगायतका सडकहरु पनि वर्षाका कारण अत्यन्त खराब भएको स्थानीयवासीहरुले बताएका छन् । नेपालीहरुको महान चाड विजयादशमी नजिकिएसँगै पूर्व–पश्चिम सहित राजमार्गहरुमा सवारी साधनको चाप अत्यन्त बढेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पानी पर्न नरोकिएकाले सडक र पुलहरुको मर्मत गर्न नपाइएको जनाएको छ । कार्यालयका प्रमुख नरेश प्रसाद केशरी वर्षा रोकिने बितिकै राजमार्गमा स्तरोन्नतीको काम सुरु गरिने बताउँछन् ।