हरिवनमा बाल विकास र विद्यालय कर्मचारीको तलब १५ हजार

1325

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब थप गरेको छ ।

संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा नगरपालिका कार्यालयले ७ हजार थप गरी न्युनतम पारिश्रमिक १५ हजार पु¥याएको हो । नगरपालिकाले तलब थप गरेपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूले वुधवार पालिका प्रमुखसहितलाई सम्मान गरेका छन् ।

तलब वृद्धि गर्दिएको भन्दै उनीहरुले वुधवार नगर प्रमुखकै कार्यकक्षमा नगर प्रमुख गणेश प्रसाद प्रसाई र तलब वृद्धिका लागि पहल गर्ने नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष यमनाथ उप्रेती, नेपाल शिक्षक महासंघ हरिवन नगर अध्यक्ष पुष्कर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन हरिवनका अध्यक्ष राजन खड्का लगायतलाई फूलमाला र खादा पहि¥याएर सम्मान गरेका हुन् ।

सर्लाहीका अन्य पालिकाहरुले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको थप भएको तलब दिन इन्कार गरिरहेका छन् । जसले गर्दा बालविकास र विद्यालय कर्मचारीहरुले पटक–पटक पालिकामा गएर धर्ना दिने लगायत आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् ।