खनालको शव सर्लाहीका लागि हिँडाइयो, भोली बिहान बागमतीमा अन्त्येष्टि गरिने

116
स्व. सरोज खनाल

हरिवन – धादिङमा मृत्यु भएका समाजसेवी सरोज खनालको शव जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि बिहिवार साँझ सर्लाहीतर्फ हिँडाइएको छ ।

उनको शव बिहिवार राती अबेरसम्म सुखेपोखरीस्थित अनाथाश्रममै ल्याएर राखिने र भोली (सुक्रवार) बिहान ८ बजे बागमती नदीमा अन्त्येष्टि गरिने परिवारका एक जना सदस्यले जानकारी दिए । खनालको पार्थिव शरीरमा सर्भिस फर पिस नेपालका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहिवार नै धादिङमै आएर श्रद्धान्जली अर्पण गरेका छन् ।

सुखेपोखरीमा रहेको अनाथाश्रमका संचालक एवं समाजसेवी सरोज खनाल बिहिवार बिहान सुतकै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए ।

बरहथवा नगरपालिका–१६, गंगापुर पुख्र्यौली घरभई हरिवनस्थित सुखेपोखरीमा बाल अनाथाश्रम संचालन गर्दै आएका ५३ वर्षीय खनाल धादिङमा आफ्नै कोठामा मृत फेला परेका हुन् । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन् ।

सर्भिस फर पिस नेपालका महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही दिनदेखि त्यहाँ गएर बस्दै आएका थिए ।
सामाजिक विकासका विभिन्न कार्यमा संलग्न स्वर्गिय खनाल नेपाली कांग्रेसका नेता विनोद खनालका सहोदर भाई हुन् ।