सर्लाही : पत्रकार महासंघ निर्वाचन (अपडेट)

मलंगवा – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि वुधवार सर्लाहीसहित देशभर एकैसाथ मतदान भएको छ ।

सर्लाहीमा जिल्ला कार्य समितिमा पत्रकार टंकबहादुर क्षेत्री अध्यक्ष रहने गरी सर्वसम्मत् नेतृत्व चयन भइसकेकाले प्रदेश र केन्द्रीय कार्य समितिका लागि मात्रै मतदान भएको हो । सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सभा हलमा मतदान सम्पन्न भई साँझदेखि जानकी पार्टी प्यालेसमा मतगणना जारी नै रहेकोे निर्वाचन समितिका संयोजक एवं पत्रकार ओमप्रकाश ठाकुरले उज्यालो अभियान अनलाईनसँग बताए ।

राती १० बजेपछिसम्म पनि मतगणना जारी रहेकाले प्रदेश तथा केन्द्रको अन्तिम मत परिणाम आइसकेको छैन् । भूगोल तर्फको केन्द्रीय सदस्यहरुको भने मत परिणाम आइसकेको छ ।

भूगोलतर्फको केन्द्रीय सदस्यमा शिव पुरीले ४३, अनिल मिश्रले २९, सुरेश यादव र केशी लामिछानेले बराबर २२, गुरु गौतमले ७, हेमशंकर सिंहले पनि ७ र सुर्दशन राज पाण्डेले १ मत प्राप्त गरेका छन् । ५० मत गनीसक्दा केन्द्रीय अध्यक्षका उम्मेदवार बिपुल पोखरेलले २४ र निर्मल शर्माले पनि २४ एवं गजेन्द्रसिंह बुढाथोकीले २ मत प्राप्त गरेका छन् ।

यसअघि जिल्लाबाट छानिएर गएका प्रतिनिधिले केन्द्रमा गएर केन्द्रीय कार्य समितिका पदाधिकारीका लागि मतदान गर्ने गरेको भएपनि विधान संसोधन गरी यो वर्षबाट पत्रकार महासंघमा आवद्ध रहेका पत्रकारहरुले जिल्लाबाटै जिल्ला, प्रदेश र केन्द्रको कार्य समितिलाई आफैले मतदान गर्ने अधिकार मिलाइएको हो ।

महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका छन् ।