सर्लाहीमा माधव–खनाल समूहको अनेमसंघ गठन

हरिवनमा वुधवार भएको माधव–खनाल समूह निकट अनेमसंघको भेला । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीमा वुधवार नेकपा एमालेको माधव–खनाल समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिल्ला कमिटी गठन गरेको छ ।

हरिवनस्थित ग्रामीण स्वयंसेवक समाजको सभा हलमा भएको भेलाबाट बिभा नेपाल अध्यक्ष रहने गरी १५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । कमिटीमा हरिमाया थिङ र सर्मिला सिंह दनुवार उपाध्यक्ष, लिली घिसिङ सचिव, मन्जु थापा सह–सचिव, पार्वती रोका कोषाध्यक्ष र अन्य सदस्यहरु रहेका छन् ।

अनेमसंघकी केन्द्रीय महासचिव शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा केन्द्रीय उपाध्यक्ष उषा पोखरेल, प्रदेश २ अध्यक्ष बिभा कार्की, एमालेका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश सभा सदस्य डिल्ली उप्रेती र बेची लुंगेली, नेता सुरेन्द्र लामालगायतले मन्तव्य राखे ।

माधव–खनाल समूहकी नेतृ एवं प्रदेश सभा सदस्य बेची लुंगेलीले १५ वर्षदेखि अधिवेशन हुन नसकेकाले आफूहरुले वुधवार भेला गरेर सर्वसम्मत् रुपमा नेतृत्व चयन गरेकाले यसलाई समानान्तर कमिटी भन्न नमिल्ने बताए ।