पाहुना टोली सिलगुढीसँग आयोजक बागमतीको हार

बल प्रहार गर्दै पाहुना टोली सिलगुढीका खेलाडी । (तस्बीर : नवराज/उज्यालो अभियान)

नवराज अधिकारी, बागमती – सर्लाहीको बागमतीमा आयोजित ५ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा पाहुना टोली कन्चनजंघा फुटबल क्लब सिलगुढी, भारतले आयोजक बागमती युवा क्लबलाई पराजित गरेको छ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा कन्चनजंघाले आयोजक बागमतीलाई १–० गोलले हराएको हो । कन्चनजंघाका लागि खेलको २१ औँ मिनेटमा अनमोल दाहालले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

घरेलु मैदानमा दर्शकको अत्यधिक समर्थनका बीच पाहुना टोलीसँग पहिलो खेल खेलेको बागमती युवा क्लबले मध्यान्तरपछि निकै आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्यभयो । आयोजकको खेल हेर्न सोमवार दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

सोमवारको खेलमा कन्चनजंघाका सन्दिप लिम्बु म्यान अफ दि म्याच बने । उनलाई १० हजार नगदसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा मंगलवार (आज) नव जनजागृति युवा क्लब सीमरा, बारा र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा जारी यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुनेछ ।