सोल्टी महोत्सवमा भोली ज्योति मगर आउने

घनश्याम बलम्पाकी, उज्यालो अभियान/सोल्टी – सर्लाहीको बागमती नगरपालिकाको सोल्टी बजारमा आयोजित प्रथम सोल्टी महोत्सवमा भोली (शनिवार) मोडेल ज्योति मगरले प्रस्तुति दिने भएकी छिन् ।

दिनहुँ कलाकारहरुले तताइरहेको महोत्सवमा भोली चर्चित मोडेल ज्योतिको प्रस्तुति रहने महोत्सवका संयोजक कल्याणमणि राईले जानकारी दिए । सोल्टी युवा क्लबको आयोजनामा चैत १६ गतेदेखि यो महोत्सव चलिरहेको हो ।

सोल्टीलाई देश तथा विदेशमा परिचित गराउने मुख्य उदेश्यसहित पहिलो पटक महोत्सवको आयोजना गरेको महोत्सवका सह–संयोजक तारा लामाले बताए । चैत २५ गतेसम्म चल्ने यस महोत्सवमा २३ गते गायिका मेलिना राई, २४ गते मोडेल एवं हास्यकलाकार विल्सन विक्रम राई र २५ गते गायक शिव परियारको प्रस्तुति रहने आयोजक सोल्टी युवा क्लबले जनाएको छ ।

विभिन्न खेल तमासासँगै स्थानीय र बुगिबुगीका कलाकारहरुको प्रस्तुति समेत रहेको महोत्सवमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकले दावी गरेको छ । महोत्सव आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकका कामना क्याप्छाकी मगरले जानकारी दिए ।

महोत्सवको चैत १६ गते एक भव्य समारोहकाबीच बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गरेका थिए ।