एमालेको जिल्ला अध्यक्ष रेवती पन्त नै हो : युवा संघ

हरिवन – नेकपा एमालेको माधव–खनाल समूह निकट युवा संघ, नेपाल सर्लाहीले एमालेको जिल्ला अध्यक्ष रेवती पन्त नै रहेको बताएको छ ।

संघका जिल्ला अध्यक्ष जय बहादुर गोलेले वुधवार साँझ पे्रस विज्ञप्ती प्रकासित गरी पार्टीको विधान अनुसार सातौं जिल्ला अधिवेशनबाट निर्वाचित हुनु भएका पन्तलाई कार्वाही गरेको भन्ने विज्ञप्ती प्रकासित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

एमालेको ओली समूहका ९ जना नेताले अस्ती मंगलवार साँझ पे्रस विज्ञप्ती निकाली पार्टीको हित विपरीत काम गरेको भन्दै रेवती पन्त अब एमालेको जिल्ला अध्यक्ष नरहेको घोषणा गरेका थिए । सो विज्ञप्तीको खण्डन गर्दै युवा संघले पनि पे्रस विज्ञप्ती निकाली अध्यक्ष पन्तलाई केही व्यक्तिले हटाएको भन्ने दावी गर्नु आफैमा हाँसो र अराजकताको विषय भएको उल्लेख गरेको छ ।

यस्ता भ्रमपूर्ण र हास्यास्पद लेखाईबाट भ्रमममा नपर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

एमाले जिल्ला अध्यक्ष पन्त स्वयंले पनि आफूलाई जिल्ला अध्यक्ष होईन् भनेर निकालिएको विज्ञप्ती हास्यापद र फट्याइएको कदम भएको रहेको प्रतिक्रिया दिएका थिए । पन्त एमालेमा वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् ।