ओली समूहको प्रेस विज्ञप्ती : रेवती पन्त जिल्ला अध्यक्ष होइनन्, पन्त भन्छन : ‘हाँस्यास्पद कुरा हो’


लालबन्दी – नेकपा एमाले सर्लाहीको केपी ओली समूहका नेताहरुले रेवती पन्त अब पार्टीको जिल्ला अध्यक्ष नरहेको बताएका छन् ।

पार्टीका ९ जना नेताहरुले मंगलवार साँझ संयुक्त हस्ताक्षरसहितको प्रेस विज्ञप्ती निकाल्दै पार्टी विरोधी गतिविधि र गुटगत क्रियाकलापहरु गरेको आरोप लगाउँदै पन्त जिल्ला कमिटी अध्यक्ष नरहेको उल्लेख गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टी विरोधी फाटोबादी र गुटगत क्रियाकलापहरु नेकपा एमाले कै नाममा गरिरहेको र आगामी दिनमा समेत ति गतिविधिहरुमा निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखाएको र पार्टी एकताकै लागि भ्रम फिजाएर कार्यकर्ता फसाउने गलत मनसाय देखिएकै हुँदा क. रेवती पन्त हाम्रो पार्टी नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष नरहेको व्यहोरा सबै पार्टी पंक्ति र सरोकारवाला सबैमा सु–सुचित गरिन्छ ।’

प्रेस विज्ञप्तीमा एमाले ओली समूहका केन्द्रीय सदस्यहरु बद्री प्रसाद न्यौपाने, रवीन्द्र बैठा, कमलादेवी महतो, नेताहरु हरि उप्रेती, मनोजकुमार देवकोटा, राजनारायण साह, गणेशप्रसाद प्रसाई, राजकुमार राय यादव र नेतृ कल्पना कटुवालले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तीमा जिल्ला अध्यक्ष पन्तको प्रत्यक्ष उपस्थिति र निर्देशनमा केही समयदेखि जिल्लामा गुटगत राजनीतिलाई प्रसय दिने भेला तथा समानान्तर कमिटी गठनलगायत विविधखालका पार्टी संगठन हित विपरीत गराइएका सम्पूर्ण गतिविधिहरु निन्दनिय छन् भनिएको छ ।

यसैबीच, एमाले जिल्ला अध्यक्ष पन्तले भने आफू पार्टीको जिल्ला अध्यक्ष नरहेको भन्ने कुरा हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन् । ‘म पार्टीको निर्वाचित जिल्ला अध्यक्ष हुँ, मलाई हटाउनु परे प्रदेश कमिटी छ, त्यो भन्दा पनि माथि केन्द्रीय कमिटी छ, दुई/चार जना उफ्रिएर रेवती पन्त अध्यक्ष होईन् भन्नु हाँस्यास्पद कुरा हो,’ पन्तले उज्यालो अभियानसँग भने, ‘ यस्ता हाँस्यास्पद र वाहियात कुराको पछि नलाग्न र विश्वास पनि नगर्न सबैमा आग्रह गर्छु ।’