लालबन्दीमा २५७ जनाको निःशुल्क आँखाको उपचार

चन्द्रपुरमा संचालित आँखा शिविर । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा शनिवार आयोजित एक दिने आँखा परीक्षण शिविरमा २५७ जनाको निःशुल्क उपचार गरिएको छ ।

स्थानीय नव जागृति युवा क्लबको आयोजना, वडा कार्यालयको सहयोग र कृष्णा आँखा उपचार केन्द्र लालबन्दीको सहकार्यमा आधारभूत विद्यालय चन्द्रपुरको प्राङ्गणमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको हो । आँखा जाँच गरेका २५७ जनामध्ये एक सय भन्दा बढीमा मोतिया विन्दुको समस्या देखिएको चिकित्सकलाई उद्रित गर्दै नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले जानकारी दिए ।

गरिवी तथा विपन्नताका कारण शिविरमा उपचार गराउन आउनेहरुमा मोतिया बिन्दुको समस्या धेरै देखिएको उनले बताए । शिविरमा आँखाको परीक्षण गरी अन्य रोगको उपचार गरिए पनि मोतिया बिन्दुका बिरामीहरुलाई मोतिया बिन्दु पत्ता मात्रै लगाइएको र शल्यक्र्रियाका लागि सुझाव दिइएको आयोजकले जनाएको छ ।

मोतिया बिन्दुबाहेक आँखाका अन्य रोग तथा समस्याका बिरामीलाई भने उपचार गरी औषधि समेत निःशुल्क प्रदान गरिएको आयोजक क्लबका सचिव पाख्रिनले बताए । शिविरमा आँखा रोग विशेषज्ञ डा. अनुराधा रौनियारले आँखाको परीक्षण गरेकी थिईन् ।