बरहथवामा निःशुल्क क्यान्सर परीक्षण शिविरबाट तीन सय ६० जना लाभान्वित

शिविरमा सेवा लिन आएकाको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्यकर्मीहरु । (तस्बीर : उज्यालो अभियान)

घनश्याम बलम्पाकी, बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा वुधवार सम्पन्न एक दिने निःशुल्क क्यान्सर परीक्षण शिविरबाट ठूलो संख्यामा स्थानीयवासी लाभान्वित भएका छन् ।

शिविरमा शरीरका विभिन्न अंग तथा महिलाहरुको स्तन र पाठेघरको निःशुल्क क्यान्सर परीक्षणलगायत सामान्य किसिमको रोग, स्त्रिरोग, नशा, हाडजोर्नी सम्बन्धि रोगको स्वास्थ्य परीक्षणबाट तीन सय ६० जना लाभान्वित भएका हुन् । जसमध्ये दुईसय जनाले क्यान्सर रोगको जाँच गराएका छन् भने एकसय ६० जनाले अन्य रोगको परीक्षण गराएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका डाक्टर निर्मल लामिछानेले जानकारी दिए ।

परीक्षणबाट १२ जना क्यान्सर रोगी भेटिएका डाक्टर लामिछानेले बताए । जिल्लाको हजरिया, मानपुर, बरहथवा, सीतापुर, मुर्तिया, जानकीनगर, लौकठका स्थानीयले सम्पन्न शिविरमा स्वास्थ्य परीक्षण गराएका छन् । निःशुल्क स्वास्थ्य परीक्षणसहित विभिन्न खाले औषधि समेत प्रदान गरिएको आयोजक लायन्स क्लव अफ सर्लाही बरहथवाका अध्यक्ष अमरेन्द्र सिंहले बताए ।

सिंहका अनुसार स्वास्थ्यपरिक्षणका लागि भरतपुर स्थित विपी कोइराल मेमोरियल क्यान्सर अस्पतालका निर्मल लामिछाने, उमेश नेपाल, सुशिल अधिकारी, गुरुशरण शाहलगताका जेनेरल फिजिसिएनको टोली आएको हो । लायन्स क्लव अफ सर्लाही बरहथवाको आयाजनामा विपी मेमोरियल क्यान्सर असप्तालको प्राविधिक सहयोग र बरहथवा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन भएको हो ।

यसैबीच, बरहथवा नगरपालिका वडा नं. ५ मा वुधवार स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ४२ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य चौकी भवनको प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, वडा नं. ५ का वडाध्यक्ष सन्जय गुप्ता, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सत्यनारायण यादव, पूर्व सांसद बैजनाथ महतोलगायतको उपस्थितिमा स्वास्थ्य चौकीको उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा नं. ५ को माथिल्लो क्षेत्रमा घनाबस्ती रहेकाले त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको वडाध्यक्ष गुप्ताले बताए ।