जिल्लाका राष्ट्रिय कलाकारलाई बरहथवा नगरपालिकाको सम्मान, सर्लाहीका अग्रज पत्रकार इस्माली पनि सम्मानित

नायक निखिल उप्रेतीलाई कदर पत्र प्रदान गरी सम्मान गर्दै मेयर देवानन्द महतो । (तस्बीर: उज्यालो अभियान)

बरहथवा – सर्लाही घरभई राष्ट्रिय स्तरमै चर्चा परिचर्चा कमाउन सफल कलाकारसहित १७ जनालाई शनिवार बरहथवा नगरपालिका कार्यालयले सम्मान गरेको छ ।

नगरपालिकाले वडा नं. २, हजरियास्थित खेल मैदानमा सर्लाही स्वर्णिम सम्मान २०७७ बाट चर्चित कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर), निर्देशक प्रतिप भट्टराई, गायक कमल खत्री, मोडल कविता नेपालीलगायत रहेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं सर्लाही जिल्लाका अग्रज पत्रकार कृष्णकुमार इस्माली र सर्लाही घरभई काठमाण्डौंमा रहेर चलचित्र विधामा पत्रकारिता गर्नेहरुलाई पनि सम्मान गरिएको छ । कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई नै देशव्यापी रुपमा चिनाउन सफल भएका व्यक्तिहरुलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।

फोटो क्याप्सन : सर्लाहीका अग्रज पत्रकार कृष्णकुमार इस्मालीलाई सम्मान गर्दै मेयर देवानन्द महतो । (तस्बीर : पत्रकार रामबाबु खड्काको फेसबुकबाट)

नगरप्रमुख महतो, उपप्रमुख सीतादेवी माझीलगायतले सम्मानित हुने व्यक्तिहरुलाई कदर पत्र र दोसल्लाबाट सम्मान गरेका हुन् । कार्यक्रममा उपस्थित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।

जिल्लामा पहिलो पटक यसरी बरहथवा नगरपालिकाले राष्ट्रको गहना भनेर चिनिने कलाकारहरुलाई एकैठाउँमा भेला परेर सम्मान गरेको हो । सम्मानअघि स्थानीय वासिन्दाको उल्लेख्य सहभागितामा टायरगाढासहित भव्य ¥याली समेत निकालिएको थियो ।