ओम सहारा पञ्चकन्यालाई हराउँदै गढिमाई सेमीफाइनलमा

शनिवारको खेलका म्यान अफ द म्याच नवीन पटेललाई ट्रफी प्रदान गर्दै आयोजक समितिका सचिव दिनेश राय यादव ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी खुल्ला टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा शनिवार भएको तेस्रो क्वाटर फाइनल खेलमा गढीमाई जमुनियाले ओम सहारा पञ्चकन्यालाई ९१ रनले पराजित गरेको छ । जितसंगै गढीमाई सेमीफाइनलमा प्रबेश गरेको छ ।

दुर्गा पूजा समिति जिल्ला विकास चोकले मलंगवाको तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको गढिमाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनायो ।

५ रनमै पहिलो विकेट गुमाएको गढीमाईले केही ओभरसम्म सामान्य रुपमा ब्याटिङ गरेपनि पछि विस्फोटक ब्याटिङ गर्दै २ सय २२ रन बनायो । गढीमाईका लागि इर्शाद खानले सर्वाधिक ५५ रन बनाए । त्यसैगरी नविन र गोपिकान्तले समान ३७÷३७ रन बनाए । सुबाष पण्डितले पनि ३५ रनको योगदान दिए । पञ्कन्याका लागि विवेक, इश्वर, विशाल, सुशील र अनिलले समान १÷१ विकेट हात पारे ।

२ सय २३ रनको लक्ष्य पच्छयाउँदै मैदानमा आएको पञ्चकन्याको पहिलो ओभरमा आक्रमक बनेपनि पछि विकेट धमाधम खस्यो । पञ्चकन्याले निर्धारित २० ओभरको खेलमा १७.२ ओभरमा अलआउट हुदैं १ सय ३१ रन बनायो । पञ्चकन्याका लागि राजन कुमारले सर्वाधिक ५९ रन बनाए । पञ्चकन्यालाई १ सय ३१ रनमै सिमित राख्ने क्रममा नविन पटेल, मधु सुधन यादव र पिन्टुले समान ३/३ विकेट हात पारे ।

शनिवारको खेलको म्यान अफ द म्याच ३७ रन बनाएर ३ विकेट लिएका नविन पटेल घोषित भए । पटेललाई आयोजक समिति सचिव दिनेश रायले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका हुन् । आइतवार अन्तिम क्वाटर फाइनल खेलमा विजडम कोचिङ सेन्टर मलंगवा र सर्लाही एकेडेमी मलंगवावीच प्रतिस्पर्धा हुने आयोजक समिति सदस्य कलामुदिन अन्सारीले जानकारी दिए ।