थप खोप प्राप्त भएपछि दोस्रो चरणको अभियान सूचारु

हरिवनस्थित एक स्वास्थ्य संस्थामा केही दिनअघि कोरोनाविरुद्धको खोप लगाइँदै ।

हरिवन – सर्लाहीमा केही दिन रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सूचारु भएको छ ।

खोप अभाव भएपछि जिल्लामा गत फागुन २८ गतेदेखि खोप लगाउन बन्द गरिएको थियो । आइतवार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाबाट सर्लाहीका लागि १० हजार जनालाई लगाउन पुग्ने एक हजार भाईल खोप प्राप्त भएको हो । खोप आउनासाथ दोस्रो चरणको अभियान सञ्चालन हुन बाँकी रहेका सातवटा पालिकामा सोमवारदेखि खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख नायकका अनुसार हरिपुर र गोडैता नगरपालिका, चक्रघट्टा, विष्णु, बसबरिया, कौडेना र धनकौल गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई धमाधम खोप लगाउने काम सोमवारदेखि भइरहेको हो । त्यसका लागि सम्वन्धित पालिकाका स्वास्थ्य चौकीहरुमा खोप केन्द्र खडा गरिएको छ ।

नायकले अब रामनगर गाउँपालिका र बलरा नगरपालिकामा मात्रै दोस्रो चरणको खोप अभियान चल्न बाँकी रहेको जानकारी दिए । ती दुई पालिकामा पनि रौतहट जिल्लामा उब्रिएको खोप ल्याएर र हेटौंडाबाट फेरि थप खोप माग गरी एक÷दुई दिनभित्रै खोप लगाउन थाल्ने स्वास्थ्य कार्यालयको तयारी छ ।

यसअघि फागुन २३ गतेदेखि २७ गतेसम्म जिल्लाका ११ वटा पालिकामा दोस्रो चरण अन्तर्गत २८ हजार २०८ जनालाई खोप लगाइएको थियो । त्यसभन्दा पहिले अग्रभागमा खटिनेहरुका लागि पहिलो चरणमा सर्लाही जिल्लाभर माघ १४ गतेदेखि २४ गतेसम्म दुई हजार ९७६ र फागुन २ गतेदेखि १० गतेसम्म ३ हजार १०६ जनाले खोप लगाएका थिए ।