हरिवनको फुटबलमा २ नम्बर वडा विजयी

संजु कर्ण/हरिवन – हरिवन नगरपालीकामा संचालित नगर स्तरिय वडा फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा वडा नं. २ विजयी भएको छ ।

बुधबार वडा नं. २ का वडाध्यक्ष अर्जुन महतो र वडा नं. ९ का वडाध्यक्ष सिताराम पोखरेलको टिमबीच प्रतिष्पर्धा भएको थियो । वडा नं. ९ लाई सुन्यका विरुद्ध १ गोल गर्दै वडा नम्बर २ को टिम विजयी भएको हो । बुधबारको खेलमा म्यान अफ दि म्याच भने वडा नं. ९ का करण दनुवार घोषित भएका छन् ।

जीतसँगै वडा नं. २ प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । विहिबार वडा नं. ८ (सेतो) र वडा नं. ११ बिच भिडन्त हुँदैछ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उप विजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । हरिवन युथ क्लवको आयोजनामा तथा हरिवन नगरपालिकाको सहयोगमा हरिवन नगरपालीका नगर स्तरिय फुटबल प्रतियोगिता संचालन भईरहेको छ ।

यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदानमा जारी आधारभूत तह रनिङ शिल्ड फुटबल प्रीतयोगितामा बुधबार ४ खेल सम्पन्न भएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन एरिया सी को आयोजनामा प्रतियोगिता भइरहेको हो । जस अन्तर्गत बुधबार आईडिएलले दीब्यज्योति, एभरेष्टले लिटल फ्लावर, रकभेलले सजिता सरस्वती र लर्ड ब्राइडले हिमालयन बोडिङ स्कुललाई पराजित गरेका छन् । प्रतियोगितामा प्याब्सन एरिया सीमा आवद्ध १६ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिताको बिजेता तथा उपबिजेताले कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्याब्सन एरिया सीका सचिव भरत देवकोटाले जानकारी दिए ।