धमला परिवारद्वारा वृद्धाश्रममा भोजन

मिष्ठान्न भोजन गराउन वृद्धाश्रम पुगेको धमला परिवार । (तस्बिर सौजन्य : भवानी कोइराला)

जुटपानी – आफ्नै सन्तानले हेला गरेर सर्लाहीको जुटपानी आश्रममा आश्रीत वृद्धवृद्धालाई बुधबार एक परिवारले मिष्ठान्न भोजन गराएको छ ।

स्वर्गिय अजुद्ध माया धमलाको १३ औँ दिनको पुण्य तिथीमा उनका छोराबुहारीहरुले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रीत वृद्धवृद्धा सहित सम्पूर्णलाई भोजन गराएका हुन् । स्व. अजुद्धका छोराहरु पाण्डवराज, हरि र कृष्ण एवं बुहारीहरु अनिता र रेबिका आश्रममै आएर वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

लालबन्दी नगरपालिका–५, निवासी धमला परिवारले बुधबार दिउँसोको खाजा र बेलुकाको खानाको प्रवन्ध मिलाएका थिए । पछिल्लो समय सर्बसाधारणहरुमा जन्मदिन एवं दिवंगत पितृको सम्झनामा वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाहरु सहित सम्पूर्णमा मिष्ठान्न भोजन सहित यथासक्य सहयोग गर्ने प्रचलन बढ्दै गएकाले वृद्धाश्रम संचालनमा निकै टेवा पुगेको भन्दै आश्रमकी अध्यक्ष कोइरालाले खुशी प्रकट गरिन् ।