बाँधको विवाद समाधान गर्न रुपान्तरणको पहल

कार्यक्रममा सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको पक्की बाँधको विवाद समाधान गर्न पहल थालिएको छ ।

जरुवा पानी निस्किएको ठाउँमा कसिएको बाँध ईश्वरपुर नगरपालिकातर्फ पर्ने तर त्यसबाट सिंचाई भने चन्द्रनगर गाउँपालिकाको वडा नं. ३ र ७ का किसानको खेतबारीमा हुँदै आएको छ । सो बाँधको स्वामित्वका विषयमा ईश्वरपुर नगरपालिका कार्यालय र चन्द्रनगर गाउँपालिका तर्फका किसानबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । बाँधमा माछापालन समेत हुने गरेकाले ईश्वरपुर नगरपालिका कार्यालय तथा किसानहरुले गठन गरेको पक्का बाँध कगवा तथा गेरुका जल उपभोक्ता समितिले बेग्लाबेग्लै ठेक्का लगाउँदा विवाद थप चर्किएको छ ।

स्थानीय वासिन्दाका अनुसार दुई/अढाई वर्षअघि बनाइएको उक्त बाँध स्थानीय तह हुनुअघि तत्कालिन जिल्ला विकास समितिले ठेक्का लगाउने गथ्र्यो । स्थानीय तह कायम भएपछि जिविसले बाँधको फाइल ईश्वरपुर नगरपालिकालाई पठायो । त्यसपछि उत्पन्न बाँधको स्वामित्व सम्वन्धी यो विवाद प्रमुख जिल्ला अधिकारीसम्म पुग्दा समेत समाधान हुन नसकेपछि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले समाधानको पहल थालेको हो ।

त्यसका लागि सोमबार द्वन्द्वरत पक्ष र सरोकारवालाबीच पहिलो पटक पूर्व तयारी बैठक बसेको छ । अब यसरी विभिन्न चरणमा छलफल तथा बैठकबसी विवाद समाधानको उपाय खोजिने प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा उनकै कार्यकक्षमा बसेको बैठकमा नगर उपप्रमुख एकाबती चौधरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ, चन्द्रनगर गाउँपालिका ३ र ७ का वडाध्यक्ष क्रमशः सीताराम महतो र रामनारायण कुमर, ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ लगायतको उपस्थिति थियो ।