सर्लाहीमा तीन महिना भित्र १५ करोड बढीको गोलभेँडा उत्पादन

अन्यत्र निकासीका लागि लालबन्दी बजारमा क्रेटमा गोलभेँडा हालिँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – बितेको तीन महिनामा सर्लाहीमा १५ करोड रुपैंया भन्दा बढीको गोलभेँडा उत्पादन भएको छ ।

मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट मात्र मंसिरदेखि माघसम्ममा ११ करोड रुपैंया बढीको गोलभेँडा देशका विभिन्न शहरहरुमा निकासी भएको आधिकारिक तथ्यांक छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवन लगायत बजारबाट मुलुकका विभिन्न शहरहरुमा निकासी हुने भएको तथा जिल्ला भित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा १५ करोड रुपैंया भन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् ।

कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मंसिरदेखि माघ अर्थात तीन महिनामा ११ करोड २८ लाख ४४ हजार ५०० रुपैंयाको गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० सय केजी गोलभेँडा खरिद गरेर निर्यात गरेका छन् ।

माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार ५०० सय केजी अर्थात छ करोड २० लाख ५६ हजार रुपैंया बराबरको गोलभेँडा किसानसँग खरिद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिए । माघमा गोलभेँडा प्रतिकेजी १२ देखि २० रुपैंयामा किनबेच भएको छ ।

त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार १०० केजी अर्थात तीन करोड २४ लाख ९२ हजार २५० रुपैंया बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मंसिरमा भने तीन लाख ४८ हजार ५०० केजी अर्थात एक करोड ८२ लाख ९६ हजार २५० रुपैंया बराबरको गोलभेँडा किसानसँग खरिद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनायो ।

मंसिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्यूनतम ४५ देखि ६० रुपैंयासम्म पाउने गर्दछन् भने पुसमा १० देखि अधिकतम ३५ रुपैंयामा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रति केजी अधिकतम १५ रुपैंयासम्म मात्र पाउने गर्दछन् ।

घाम तात्दै अर्थात गर्मी अत्याधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक सिजनमा ३५ करोड रुपैंया हाराहारीमा कारोबार हुने गरेको थियो । गतवर्ष र यसवर्ष भने केही घटी हुने बताईएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्र स्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रका २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ ।