लालबन्दीमा भोली वडा नं. ६ र १७ बीच भिडन्त हुँदै

लालबन्दी – लालबन्दी नगरपालिकामा जारी वडाध्यक्ष कप फुटबलको उपाधिका लागि वडा नं. ६ र १७ भिड्ने भएका छन् ।

आईतवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं. १६ परवानीपुरलाई २–१ गोलले पराजीत गर्दै वडा नं. ६ ले प्रतियोगिताको फाईनल यात्रा तय गरेको हो । अब उपाधीका लागि मंगलबार हुने फाइनल खेलमा वडा नं. ६ ले १७ नं. वडा रानीगञ्जसँग भिडन्त गर्नु पर्नेछ ।

आईतबार भएको खेलमा वडा नं. ६ को जीतमा टिम क्याप्टेन जर्सी नंं. १४ का दिनेश हेन्जन र जर्सी नं. ९ का रोहन बलले १÷१ गोल गरे । १६ नं. वडाको तर्फबाट जर्सी नं. ९ का साजन दाहालले १ गोल फर्काएपनि बराबरी गोल समेत गर्न नसक्दा उक्त टिम बाहिरिन बाध्य भयो । आईतवारको खेलको म्यान अफ द म्याच भने पराजित वडा नं. १६ का शोभित थापा घोषित भए ।

लालबन्दी नगरपालिका वडा नं. १० चन्द्रपुरमा आयोजित प्रतियोगितामा पहिलो हुने वडाले ७० हजार र दोस्रो हुने वडाले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने सह–आयोजक नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले जानकारी दिए ।