मलंगवामा नेकपाका महिलाहरुको विरोध प्रदर्शन

विरोध प्रदर्शनमा सहभागि महिलाहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहमा आवद्ध अखिल नेपाल महिला संघले आईतबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।

महिला संघको देशव्यापी कार्यक्रम अन्तर्गत महिला हिंसा र बलात्कारविरुद्ध आईतवार नेकपा अन्तर्गत प्रचण्ड–नेपाल समूहमा आवद्ध महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् । संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

मलंगवा नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित जिविस चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई प्रदेश सभा सदस्य बेची लुंगेली, महिला नेतृहरु रन्जना सरकार, बिभा नेपाल, बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझी, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामा लगायतले सम्बोधन गरेका थिए ।

विनिता दाहालको सञ्चालन तथा पद्मा ठोकरले स्वागत मन्तव्य राखेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय लक्ष्मण पौडेल र अच्यूतम काफ्लेको समेत उपस्थिति रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृहरुले देशमा बलात्कारका घट्ना बढिरहँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको आरोप लगाए । प्रदर्शनकारीले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्ट्राचारीमाथि कारबाहीको माग गरिएको प्लेकार्ड बोकेका थिए ।