स्व. रोनिशको सम्झनामा मजमाविका विद्यार्थीलाई छात्रवृत्ति

छात्रवृत्ति पाउने विद्यार्थीलाई प्रमाणपत्र र नगद प्रदान गर्दै प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती । (तस्बिर : उज्यालो अभियान)

हरिवन – स्व. रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका–८ स्थित महादेव जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आईतबार बिहान विद्यालयको सभाहलमा आयोजित एक समारोहबीच कक्षा १२ मा अध्ययनरत सम्झना पाख्रिन र सुन्दरी कार्की तथा कक्षा ११ मा अध्ययनरत नुर कुमारी नेपाल र सुस्मा रैका मगरलाई छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका विप्लव कार्कीले जानकारी दिए । प्रतिष्ठानका संरक्षक एवं कांग्रेस नेता अध्यक्ष खड्गबहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको विशिष्ट आतिथ्यता एवं उपमेयर रेणुका पौडेलको विशेष आतिथ्यता रहेको थियो । भरत कुमार कार्कीको सञ्चालन रहेको कार्यक्रममा चुडा बहादुर थापा, कमल बुढाथोकी, डोर प्रसाद भट्टराई, यज्ञ बिनोद ढुङ्गेल, राज कुमार उप्रेती, चुडामणि वाग्ले, जय शंकर सिंह लगायत राजनैतिक, सामाजिक एवं शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

मजमाविकै शिक्षक राजन कार्कीका छोरा रोनिशको २०७५ साल असार १० गते १७ वर्षको उमेरमै मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो । छोरा रोनिशको स्मृतिमा कार्की परिवारले स्व. रोनिश कार्की स्मृति प्रतिष्ठानको नाममा मजमावि हरिवनका जेहेन्दार एवं विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेका हुन् । हाल अक्षयकोषमा ७ लाख रुपैंया पुगेको र सोही कोषको ब्याजबाट हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययनरत २/२ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप अध्यापनमा लाग्ने सम्पूर्ण खर्च प्रतिष्ठानले व्यहोर्ने नेपाली कांग्रेस हरिवनका सचिव समेत रहेका निरोज कार्कीले जानकारी दिए । कार्कीका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीलाई विद्यालय पोशाकका लागि प्रति विद्यार्थी ४ हजार ६०० रुपैंया नगदै प्रदान गरिएको छ भने किताब, कापी, विद्यालय शुल्क लगायत सम्पूर्ण खर्च प्रतिष्ठानले नै ब्योहोर्ने छ ।