सर्लाहीमा कोरोना खोपप्रति देखिएन उत्साह

मलंगवा – सर्लाहीमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाउनेहरु कम देखिएका छन् । सरकारले जसलाई अति जोखिममा रहेको भन्दै प्राथमिकतामा राखेर खोप पठाएपनि त्यस्ताले नै खोप नलगाएको पाईएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय मलंगवाका अनुसार, शनिवार सम्म सर्लाहीमा ४ हजार ९ सय ४१ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । पहिलो अभियानमा २ हजार ९ सय ७६ र दोस्रो अभियानमा शनिवारसम्म एक हजार ९ सय ६५ जनाले खोप लगाएका हुन् । शनिवारदेखि पुनः सोमवारसम्मका लागि खोप लगाउने अवधि थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सर्लाहीमा अझै ४ हजार बढीलाई पुग्ने खोप बाँकी नै छ । जिल्लामा अहिले जिल्ला अस्पताल मलंगवासँगै लालबन्दी, हरिपुर, बरहथवा, जमुनिया र अचलगढमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट खोप लगाउने काम भइरहेको जन स्वास्थ्य कार्याय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । फागुन २३ देखि जेष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्ने बताएको सरकारले अहिले सरकारी कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी, पहिलो अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, शवबाहन तथा एम्बुलेन्सका चालक र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइरहेको छ ।

तर यी प्राथमिकताको सूचीमा रहेकामध्ये जनप्रतिनिधिहरुले नै सर्लाहीको हकमा कम खोप लगाइरहेका स्वास्थ्य कार्यालय प्रमुख नायकको भनाई छ । अनेकखाले निराधार हल्ला सुनेर खोप लगाउन डराउने गरेकाले लक्षित सरकारी एवं गैर सरकारी क्षेत्रका व्यक्तिहरु खोप लगाउन नआएको नायको अनुमान छ । जनमानसमा कोरोना खोपबारे फिजाइएका अनेक भ्रम र हुँदै नभएका हल्ला चिर्न पनि सरकारले निःशुल्क लगाईरहेको खोप अभियानमा सहभागी भईदिन उनले आग्रह गरे । खोप लगाएपछि अधिकांशलाई कुनै प्रकारको लक्षण नै नदेखिएको, कसैकसैलाई खोप लगाएको ठाउँमा सामान्य दुख्ने तथा एक÷दुई जनालाई ज्वरो आउने भएपनि नआत्तिन नायकको आग्रह छ ।