सर्लाही निवासी डा. झा प्रदेश दुई प्रमुखमा नियुक्त

डा. राजेश झा अहिराज’

हरिवन – प्रदेश नम्बर दुईको प्रमुखको रुपमा सर्लाहीको मलंगवा निवासी पत्रकार एवं राजनैतिक विश्लेषक राजेश अहिराजले परिचित डा. राजेश झा नियुक्त भएका छन् ।

संघीय मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मलंगवा नगरपालिका–८ निवासी झालाई प्रदेश दुई प्रमुखमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा राष्ट्रपति भण्डारीद्वारा नियुक्त गरेको जानकारी गराएका हुन् । तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राष्ट्रपति भण्डारीले परियारको ठाउँमा झालाई नियुक्त गरेकी हुन् ।

पूरानो घर रौतहट भएपनि हाल डा. झाको घर मलंगवा नगरपालिका–८ मा रहेको छ । उनले मलंगवाबाटै पत्रकारिता क्षेत्रको सूरुवात गरेका थिए ।

२०६२/०६३ देखि केही वर्षसम्म काठमाडौंको अनामनगरमा मधेश मिडिया हाउस सञ्चालन एवं मधेशवाणी साप्ताहिक प्रकाशन सूरु गरेर मधेशवादी दलको मुद्धा उठानमा सकृय डा. झाले केही वर्षयता भने संघीयताको विरुद्धमा समेत आफ्ना विचारहरु राख्दै आएका थिए । पछिल्लो समय भने उनी मधेश मिडिया हाउस एवं मधेशवाणी साप्ताहिकमा निश्कृय भएका छन् ।

मधेश मामिलामा विद्यावारिधी गरेका डा. झाले पछिल्लो समय मधेशवादी दलका नेता विरुद्ध कटाक्ष गर्दै राष्ट्रिय एकताको पक्षमा आवाज उठाउँदै आएका थिए । पछिल्लो केही वर्षयता राष्ट्रिय एकताको पक्षमा मात्र हैन नेपालमा धेरै प्रदेश हुनुहुदैन लगायत आवाज उठाईरहेका झाले प्रधानमन्त्री ओलीबाट उच्चस्तरीय पुरस्कारको रुपमा प्रदेश प्रमुखको पद हात पारेका छन् । उनले आफ्नो फेसबुक पेजको प्रोफाईलमै ‘एक देश, दुई दल, तीन प्रदेश’ भनेर नारा नै राखेका छन् ।