हरिपूर्वामा महिलाको आङ्ग खस्ने समस्या निदानका लागी बागमतीको सम्झौता

हस्ताक्षर पश्चात सम्झौता पत्र आदान प्रदान गर्दै हरिपूर्वाका प्रमुख राय (बाँया) र बागमतीका कार्यक्रम प्रबन्धक झा । (तस्बिर सौजन्य : बागमती सेवा समाज)

हरिपूर्वा – अति विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई विषेश ग्राह्यता दिदै महिलाहरुको आङ्ग खस्ने समस्याको निदान, उपचार एवं व्यवस्थापन सेवा प्रदान गर्ने सहित विभिन्न स्वास्थ्य सेवाका लागि हरिपूर्वा नगरपालिकामा सम्झौता भएको छ ।

नेपाल सरकार परिवार कल्याण माहाशाखा, आड्रा नेपाल र बागमती सेवा समाज नेपाल हरिवनको संयूक्त साझेदारीमा संचालित महिला स्वास्थ्य र प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत हरिपूर्वा नगरपालिका र बागमती सेवा समाज नेपाल विच सम्झौता भएको हो । हरिपूर्वा नगरपालिकामा परियोजनाका कार्यक्रम तथा सेवाहरु संचालन गर्न दवै पक्षको आपसी सहमतीमा नगरपालिकाको तर्फबाट नगर प्रमुख सियाराम राय र संस्थाको तर्फबाट कार्यक्रम प्रवन्धक दिवाकर झा ले समझदारी–पत्र मा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा बागमतीको तर्फबाट १ जना नर्सिङ्ग कर्मचारीले हरिपूर्वा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रत्यक्ष रुपमा स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीको तालिम, वन साईट कोचिङ तथा मोनिटरिङको माध्यमबाट क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने, आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई शल्यक्रिया गर्नुपर्ने आवश्यक भएमा नजिकको उपयुक्त अस्पतालमा न्यूनतम आवश्यक पर्ने खर्चहरुको व्यवस्थापन सहित प्रेषण गर्ने, स्वास्थ्य संस्थाहरुमा प्रदान गरिने आङ्ग खस्ने समस्या सम्वन्धी सम्पूर्ण सेवाहरुको नियमित विवरण नगरपालिकालाई उपलब्ध गराउने र अन्त्यमा नेपाल सरकारद्वारा निर्धारण गरेको मापदण्ड अनुरुप उक्त सेवाको मुल्याङ्कन गरी श्रोतको आधारमा स्वास्थ्य संस्थालाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्ने सम्झौतमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाको तर्फबाट संस्थाको कर्मचारीलाई स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने वातावरण प्रदान गर्ने, सेवा प्रदान गर्ने क्रममा भैपरी आउने जटिलताको व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारी र संस्थाको समन्वयमा सम्वन्धित स्वास्थ्य संस्थाबाट हाल प्रयोग भैरहेको सरकारी प्रेषण प्रणालीकै प्रयोग गर्ने, आङ्ग खस्ने समस्याबाट पीडित अति विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई संस्थाले शल्यक्रियाको लागि आर्थिक रुपमा सहयोग गर्नुपर्ने भए नगरपालिकाले सिफारिस गर्ने र आङ्ग खस्ने समस्या सम्वन्धी संस्थाले उपलव्ध गराएको सम्पूर्ण तथ्याङ्क नगरपालिकाद्वारा स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली गरेको सुनिश्चित गर्ने प्रतिवद्धताहरु समझदारी पत्रमा उल्लेख छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाको तर्फबाट वडाध्यक्षहरु, हेल्थ पोष्ट ईन्चार्ज लगायतको उपस्थिती रहेको थियो भने संस्थाको तर्फबाट परियोजना संयोजक लगायत अन्य कर्मचारीको उपस्थिती रहेको थियो । उक्त सम्झौता पत्र संस्थाको परियोजना संचालन हुने अवधि सम्म लागु रहने कार्यक्रम प्रवन्धक दिवाकर झाले जानकारी दिए ।