हरिवनमा ३० गते भव्य ल्होछार महोत्सव हुने पक्का

सोमबार साँझ हरिवनको सुखेपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – तामाङ समुदायको नयाँ वर्ष अर्थात २८५७ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा आगामी माघ ३० गते गते एकदिने वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ ।

आयोजक हरिवन तामाङ समूहले सोमबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोजकहरुले माघ ३० गते हुने महोत्सव आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । हरिवनको सुखेपोखरी स्थित कलश होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका जोनिस पाख्रिनले महोत्सवका दिन बोलाउने राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको बारेमा तय भईसकेको बताए ।

उक्त दिन चर्चित र्यापर समिर घिसिङ (भिटेन) आउने आयोजक तामाङ समूहका संयोजक श्याम मोक्तानले दाबी गरे । त्यस्तै महोत्सवममा संगितकार एवं गायक विशाल कल्तानको पनि प्रस्तुती रहने बताईएको छ ।

हरिवनको सूर्तिविकास चौरमा हुने महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती सहित तामाङ समुदायको झाँकी प्रदर्शन गरिने आयोजकले जनाएका छन् । कार्यक्रम बिहान ११ बजेदेखि दिनभर हुने बताईएको छ । किरण थिङ सचिब र ताराकुमारी घलान कोषाध्यक्ष रहेको आयोजक हरिवन तामाङ समूहका अनुसार महोत्सवका दिन तामाङ समूदायको झाँकी सहित लामाहरुले नाँच्ने बाक्पा नृत्य समेत प्रस्तुत गरिने छ ।

त्यस्तै माघ २९ र ३० गते तथा फागुन १ गते सोनाम ल्होछारको अवसरमा सार्बजनिक बिदा दिनका लागि हरिवन नगरपालिका कार्यालयसँग नेपाल तामाङ घेदुङ हरिवन नगर समितिले समन्वय गरिरहेको संचारकर्मी समेत रहेका नेपाल तामाङ पत्रकार समूहका अध्यक्ष राजु लो ले बताए । सोनाम ल्होछार पर्वको अवसरमा तामाङ समुदायले यसवर्ष मुसा पर्वलाई बिदाई गरेर गाई पर्वको स्वागत गर्दैछन् । ल्होछार पर्वका दिन तामाङ समुदायले आफ्ना चेलिबेटीलाई बोलाउने र कन्दमुल लगायत खाना खुवाउँदै नयाँ वस्त्र पहिर्याउने बताईएको छ ।

भिटेन लगायत कलाकारहरुलाई अग्रिम रकम दिईसकिएको जानकारी दिँदै आयोजक समितिका जोनिस पाख्रिनले महोत्सव भव्य रुपमा सम्पन्न गर्नका लागि सबैमा हार्दिक आव्हान गरेका छन् । खुला महोत्सव आयोजना गर्नका लागि साँढे चार लाख रुपैंया लाग्ने अनुमान गरिएको उल्लेख गर्दैै हरिवन नगरपालिका कार्यालयसँग प्रस्तावना पत्र पेश गरिएको र नगरपालिका कार्यालयबाट यथाशक्य आर्थिक सहयोगको आश्वासन पाईएको आयोजकले जानकारी दिए । नगरपालिका कार्यालयबाट प्राप्त रकममा अपुग रकम भने नेपाल तामाङ घेदुङमा आवद्ध सहित अन्य युवाहरुसँग समेत आर्थिक सहयोग संकलन गर्ने तयारी भईरहेको बताईएको छ । यस वर्षको महोत्सवमा प्रवेशका लागि दर्शकसँग टिकट भने नलिईने आयोजकले जनाएका छन् ।