जिल्लाभर स्थायी बन्ध्याकरण शिविर संचालन गरिने

सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पताल । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा स्थायी बन्ध्याकरण शिविर संचालन गरिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाही र परिवार नियोजन संघ सर्लाहीको आयोजनामा शिविर संचालन गरिने भएको हो । माघ २८ अर्थात भोली बुधबारबाट एक साताका लागि संचालन गरिने शिविरमा सन्तानको ईच्छा पुरा भएका दम्पतीले सहभागी भई सेवा लिनलाई जिल्ला जनस्वास्थ्य कार्यालय, सर्लाहीले आह्वान गरेको छ ।

शिविर संचालनका लागि हाल स्थान छनोटको काम भैरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए । यस वर्ष सर्लाहीमा करीब एक हजार जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहेको प्रमुख नायकले जानकारी दिए । यसरी वर्षैपिच्छे यस्ता शिविर गरिदैँ आईएको भएपनि शिक्षाको कमीले गर्दा बन्ध्याकरण गर्ने सहभागी कमी हुनुका साथै शिशु जन्मदरमा वर्षेनी वृद्धि हुँदै गएको देखिन्छ । सरकारले ल्याएको ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूल नारालाई साकार पार्नका लागि जोड दिँदै शिविरको आयोजना गर्न लागिएको जानकारी दिईएको छ ।