हरिवनको क्रिकेट उपाधी मलंगवाले चुम्यो

विजयी टिमलाई प्रथम शिल्ड प्रदान गर्दै हरिवनका मेयर प्रसाईं, उपमेयर पौडेल लगायत । (तस्बिर : उज्यालो अभियान)

सञ्जु कर्ण/हरिवन – हरिवन नगरपालिका वडा नं. ११ द्वारा आयोजित वडा अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिताको उपाधी मलंगवाले चुमेको छ ।

आईतबार भएको फाईनल खेलमा हरिवन नगरपालिका टिमलाई ९ रनले पराजित गर्दै मलंगवा नगरपालीका टिमले उपाधी चुमेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको मलंगवाले २० ओभर खेलेर ९ बिकेटको क्षतीमा १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रिएको हरिवन नगरपालीका टिम २० ओभर खेल्दा ११४ रनमै समेटिएर हार ब्यहोर्न बाध्य भयो ।

पहिलो हुने मलंगवा नगरपालिका टिमले ११ हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र र दोस्रो हुने हरिवन नगरपालिका टिमले पाँचहजार एकसय नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाईनल खेलका म्यान अफ दि म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर मलंगवा नगरपालीकाका तौफिक भएका छन् । उनले प्रतियोगिताभर बिपक्षिको १५ बिकेट लिँदै ब्यक्तिगत ६८ रन समेत जोडेका थिए ।

हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न आईतबारको फाईनल प्रतियोगिता समापन समारोहमा उप प्रमुख रेणुका पौडेल, वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा लगायतको बिशिष्ट आतिथ्यथा रहेको थियो । कार्यक्रममा पुष्कर बुढाथोकी, निशा बानिया ठकुरी, अन्जना पन्त कडरिया लगायतको उपस्थिती रहेको आयोजक कमिटीका राकेश चौधरीले जानकारी दिए ।

हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शेष मेहबुब रेजाको ब्यक्तिगत खर्चमा माघ १० गत्ते देखि भएको प्रतियोगितामा सर्लाही जिल्ला स्थित ८ वटा नगरपालिका अन्तर्गतका टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी सबै टिमलाई एक–एक वटा क्रिकेट ब्याट उपहार दिईनुका साथै समापन समारोहमा उपस्थित सबै अतिथिहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको आयोजक कमिटीका संयोजक अनिल हमालले जानकारी दिए ।