पूर्व राष्ट्रिय खेलाडीहरु जुमानु, भोला र सुमनले खेले हरिवनमा मैत्रिपूर्ण फुटबल

कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)
मैत्रिपूर्ण फुटबल टिम । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन युवा क्लबद्वारा मैत्रिपूर्ण फुटबल खेल तथा सम्मान लगायत विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकै पुरानो हरिवन युवा क्लबले शनिबार क्लबका पुराना अध्यक्ष लगायत आजिवन सदस्यहरुलाई सम्मान तथा राष्ट्रिय खेलाडीहरु विच मैत्रिपुर्ण खेल सम्पन्न गरेको हो । क्लबका अध्यक्ष सुमन तिलक सिन्दालीको अध्यक्षता एवं नगर उप प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्तामा हरिवन नपा–११ स्थित सनराइज वोर्डिङ स्कुलको प्राङ्गणमा कार्यक्रम भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीहरु जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी लगायतका टिम उप प्रमुख रेणुका पौडेलको कप्तानी र हरिवन युवा क्लबका अध्यक्ष एवं प्रशिक्षक सुमन सिन्दालीको कप्तानीमा प्रतिष्पर्धा भएको थियो । जसमा राष्ट्रिय टिमले हरिवन युवा क्लबलाई ४ का विरुद्ध ५ गोल गदै पराजित गरेको छ । मैत्रिपूर्ण खेलका लागि नेपाली कांग्रेसका नेता रामहरि न्यौपानेले जर्सी सहयोग गरेका थिए । यस्तै क्लबका ५२ जना आजिवन सदस्यहरुलाई सम्मान पत्र र खादा ओढाइ सम्मान समेत गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २०४३ सालमा दर्ता भएको क्लब केही वर्षदेखि निष्कृय रहेको थियो । केही समयअघि मात्र क्लबलाई जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नविकरण गरिएको हो । नविकरणसँगै फुटबल प्रशिक्षक सिन्दालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।