हरिपुर्वामा मलखाद बिक्रेता सहकारी छानिए

हरिपूर्वा नगरपालिका कार्यालय ।

हरिपूर्वा – जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिकाले सबै वडामा सरकारी अनुदानको मलखाद विक्री वितरणका लागि सहकारी संस्था छनौट गरेको छ ।

हरिपुर्वा नगरपालिकाका कृषि शाखा प्रमुख प्रभुनारायण चौधरीका अनुसार नगरपालिका अन्तर्गत नौ वटै वडामा मलखाद विक्री वितरणका लागि सहकारी संस्था छनौट गरिएको हो । कार्यालयका अनुसार हरिपुर्वा नगरपालिका–१ मा बौधिमाई साना किसान कृषि सहकारी, २ मा जयगणराज साना किसान कृषि सहकारी, ३ मा बहुमुखी सहकारी, ४ मा शिबशक्ति उपभोक्ता सहकारी संस्था र ५ मा साना किसान कृषि सहकारी संस्थाले सरकारी अनुदानका मलखाद विक्री वितरणको जिम्मा पाएका छन् । त्यस्तै वडा नम्बर ६ मा जयगणराज एग्रो ट्रेडर्स, ७ मा हर्दिनाथ कृषि सहकारी संस्था, ८ मा महाकाल कृषि एग्रोभेट फर्म एण्ड सप्लायर र वडा नम्वर ९ मा जय माँ काली कृषि सहकारी संस्थालाई छनौट गरिएको छ ।

जिल्लामा पालिकाहरुले सरकारी अनुदानको मलखाद विक्री वितरणका लागि सहकारी संस्था छनौट प्रक्रिया अघि बढाइरहेका छन् । यसअघि संघीय सरकार मार्फत हुँदै आएको अनुदानको मलखाद वितरण कार्य अब स्थानीय तहहरुबाटै हुँदैछ । स्थानीय तहमै मलको आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन मल बिक्रेता छनौट गर्ने काम भइरहेको हो ।

सरकारले अनुदानको मल उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि किसानहरुले आवश्यक परेका बेला समयमै मल पाउन सकिरहेका छैनन् । खेती लगाउने बेला मल नपाउँदा किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर भारतीय मल प्रयोग गर्न बाध्य भइरहेका छन् ।