प्रदेशकै उत्कृष्ट सगुन सहकारीको अध्यक्षमा ढकाल

अध्यक्षमा चयन भएका केशब ढकाल ।

हरिवन – सर्लाहीको हरिवन स्थित प्रदेश नम्बर दुईकै उत्कृष्ट सहकारीकाे रुपमा पुरस्कृत सगुन बचत तथा  ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा केशब ढकाल सर्वसम्मत चयन भएका छन् ।

सोमबार साँझ सम्पन्न निर्वाचन समितिको निर्णय अनुसार सगुनको अध्यक्षमा ढकालको नेतृत्वमा नौ सदस्यीय संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा पोखरेल (सुवेदी), सचिव राज कुमार उप्रेती र कोषाध्यक्षमा बिनोद कार्की चयन भएका छन् । संस्थाको संचालक समिति सदस्यहरुमा पदमा मोक्तान, हरिप्रसाद पुडासैनी, मुख्तारमिया मुकेरी, शुशिला सुनुवार र कमल विक्रम कार्की चयन भएको बताईएको छ । त्यस्तै लेखा समितिमा नरेन्द्र राज सुवेदी, केशव राज थापा र दुर्गा प्रसाद उप्रेती चयन भएका छन् भने ऋण लगायत बाँकी उप समितिमा संचालक समितिको बैठकले चयन गर्ने बताईएको छ ।

पुष २५ गते सगुनको साधारण सभा उद्घाटन समारोह सम्पन्न भएको थियो । अध्यक्ष लगायत अन्य प्रमुख पदाधिकारीमा आकांक्षी धेरै देखिएपछि साधारण सभाले नेतृत्व चयन गर्न सकेको थिएन । नेतृत्वका लागि दावेदारबीच समन्वय गर्न प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, हरिवनका मेयर गणेश प्रसाद प्रसाई र संस्थाका सचिव कमल बुढाथोकीको तीन सदस्यीय संचालक समिति चयन कार्यदल गठन गरिएको थियो ।

उक्त समितिले मुख्य पदका आकांक्षीबीच माघ २ गतेसम्म सहमती जुटाउन मध्यस्थता गर्ने र सहमति नजुटेको खण्डमा निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको थियो । कार्यदल संयोजक डिल्लीप्रसाद उप्रेतीका अनुसार सोमबार सर्वसम्मति रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ चयन भएका संचालक समिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरुलाई मंगलबार दिउँसो साँढे ३ बजे सपथ ग्रहण गराईने कार्यक्रम राखिएको संस्थाले जनाएको छ । यसअघि स्थापनाकाल देखि सगुनकाे अध्यक्षमा बाबुराम घिमिरे रहेका थिए ।

प्रदेश २ कै उत्कृष्ट सगुन सहकारीले कोरोना भाईरसको संक्रमणकै बीच गत वर्ष १ अर्ब २८ करोड ९१ लाख ५० हजार ८०६ रुपैयाँ कुल कारोवार गरी ४ करोड १७ लाख ७६ हजार ४६५ रुपैयाँ खूद मुनाफा आर्जन गरेको प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।