चिसो बढेपछि विद्यालय बन्द

चिसो छल्न आगो बालेर ताप्दै गरेका लालबन्दी नगरपालिका–९, बस्तीपुरका डोम समुदाय । (फाईल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – बढ्दो चिसोले पठनपाठन गराउनै मुश्किल परेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले चार दिनका लागि विद्यालयहरु बन्द गरेको छ ।

एक सातादेखि निरन्तर बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो हुँदा पठनपाठन कार्यमा कठिनाई उत्पन्न भएकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख बासुदेव तिमल्सिनाले बताए । नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै माघ ६ गते मंगलबारदेखि ९ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको जानकारी दिएको हो ।

चिसो बढेपछि जिल्लाका २० वटा पालिकामध्ये लालबन्दी नगरपालिकाले पहिलो पटक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र ४८ वटा सामुदायिक र दर्ता गरी संचालन भएका संस्थागत विद्यालयहरु २९ वटा रहेका छन् । अरु बेला यो समयमा जाडो विदा दिने गरिएपनि यो वर्ष कोरोना भाईरसको संक्रमणले गर्दा लामो समय विद्यालय बन्द गरिएकाले अहिले धमाधम पठनपाठन सञ्चालन गरिरहेका छन् । चिसो बढ्दा विद्यार्थीहरुलाई विद्यालय आउन जान समस्या भइरहेको छ ।

सर्लाहीसहित तराईका जिल्लाहरुमा अघिल्लो हप्ताको आइतवारदेखि निरन्तर बाक्लो हुस्सु लागेर चिसो हावा चलेको छ । चिसोले विद्यार्थीसँगै किसान, मजदुर, अतिविपन्न र पिछडिएको दलित परिवार नराम्ररी प्रभावित भइरहेका छन् । नजिकैको दृश्य समेत नदेखिने गरी दिनभर बाक्लो हुस्सु लाग्दा बाहिर हिँड्डुल गर्न र सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको छ ।