राजेन्द्र महतोको आरोप : ओलीले देशलाई प्रतिगमनतर्फ धकेले

विरोध सभामा उपस्थित नेताहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको आरोप लगाएका छन् ।

सदरमुकाम मलंगवामा शनिवार जसपाले आयोजना गरेको जनप्रदर्शन एवं बिरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले संबिधानमै नरहेको व्यवस्था लागू गरेर देशलाई प्रतिगमनको दिशामा धकेलेको महतोले आरोप लगाए ।

संविधानको कुनै पनि धारामा संसद विघटनको व्यवस्था नरहेको उनको भनाई छ । ओलीले आफू खुशी संसद विघटन गरेर देशलाई बर्बाद गर्न लागि परेको नेता महतोले दाबी गरेका छन् ।
प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गरेको उनले बताए । ‘जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले प्रतिगमनमाथि प्रतिगमन गर्दै छन्’, महतोले भने, ‘ठूल्ठूला आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई हत्या गर्ने काम भएको छ ।’

ओलीले राणा र राजा जस्तो शासन गर्न खोजेको आरोप लगाउँदै महतोले भने, ‘अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो । संविधानको रक्षक नै भक्षक भएका छन् । जनताको अधिकारमाथि डकैती भएको छ । ठूलो तानाशाह बन्न खोजिएको छ ।’

संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेशको जनतासंग बिभेद गरेका ओलीले फेरी असंबैधानिक कदम चालेर देशलाई अनिर्णयको बन्दी बनाउने काम गरेको उनले बताए । प्रचण्ड र ओली बिचको झगडाको कारण जनताले दुःख पाएको महतोले बताएका छन् । आफैले बनाएको संविधानलाई आफैले लत्याएको उनले आरोप लगाए । ‘स्वार्थ पूरा गर्नका लागि संविधान विपरीत काम प्रधानमन्त्री ओलीले गरेका छन्, यस्तै कदमका कारण देशमा ६ वटा संविधान परिवर्तन भएको छ’, महतोले भने, ‘जनताबाट निर्वाचित जनप्रतिनिधिले बनाएको सातौं संविधानलाई समेत नष्ट गर्ने दाउमा रहेको देखिन्छ ।’ कार्यक्रममा पूर्व मन्त्री महेन्द्र राय, कार्यकारिणी सदस्य चन्दा चौधरी, प्रदेश दुई सरकारका उद्योग, वन वातावारण तथा पर्यटन मन्त्री एवं जसपा नेता रामनरेश राय, प्रदेश सांसद् अशोककुमार यादव लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच, आयोजकले आशन ग्रहणमा मर्यादाक्रम बिगारेको भन्दै एक निर्वतमान सांसद, २ विधायक र एक जना केन्द्रीय सदस्यले मञ्चमा आशन ग्रहण गरेनन् । मर्यादाक्रमको ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण नगरेका हुन् । उनीहरु दर्शक दीर्घामा नै बसे ।