विभिन्न समुदायले आ–आफ्नो रीति अनुसार मनाए माघे संक्रान्ति

मकर संक्रान्तिको अवसरमा मगर समुदायले बिहिवार सर्लाहीको बरहथवामा निकालेको ¥याली । (तस्बिर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी मगर/बरहथवा – माघे संक्रान्ति अर्थात् माघी पर्व बिहिवार सर्लाहीसहित देशभर हर्षोउल्लासका साथ मनाइएको छ ।

समुदाय नै पिच्छे फरक–फरक किसिम र नामले यो पर्व मनाइन्छ । यहाँका मगर समुदायले आफूहरुको राष्ट्रिय पर्व मकर संक्रान्ति बिहिवार बरहथवा नगरपालिका २ हजरियामा विविध कार्यक्रम गरी मनाएका छन् ।

¥याली, झाँकी, नृत्य, गीतसंगितसहित जिल्लाभरका मगर समुदाय भेला भएर पर्व मनाएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले बताए । संघका बरहथवा नगर अध्यक्ष दिलबहादुर धना मगरको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, संघका केन्द्रीय सदस्य एवं प्रदेश २ का इन्चार्ज लेखराम जर्गा मगर, पूर्व मध्यमाञ्चल उपाध्यक्ष नारायण खपांगी मगर, नेकपाका नेता सुरेन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, यसै पर्वका अवसरमा जिल्लाका थारु समुदायले हरिपुर नगरपालिका–९, पिडारीमा आयोजना गरेको माघी महोत्सवको बिहिवार समापन गरिएको छ । बिहिवार साँस्कृतिक कार्यक्रम गरी मेलाको समापन गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य आशनारायण चौधरीले जानकारी दिए ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । संक्रान्तिको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघे संक्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास पनि रहिआएको छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले बिहिवारबाट दिनभन्दा रात छोटा हुदै जान्छन् । माघे संक्रान्तिको अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पर्वका अवसरमा सरकारले बिहिवार सार्वजनिक बिदा दिएको थियो ।