प्रहरीले नारायणखोलामा फेरि ५ बिगाहको गाँजा फाँड्यो

नारायणखोलामा गाँजाको बोट काट्दै प्रहरी टोली । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय सर्लाही)

नारायणखोला – प्रहरीले सर्लाहीको नारायणखोलामा फेरि ५ बिगाहको गाँजा नष्ट गरेको छ ।

शनिवार सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) गोकर्ण भट्टराईको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र प्रहरी नायब निरीक्षक (सई) प्रदीप चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नारायणखोलास्थित तीनतल्ले भन्ने ठाउँमा करिव ५ बिगाहमा लगाइएको ५० हजार बोट जति गाँजा नष्ट गरेको हो ।

नारायणखोलामा यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोलीले ९ बिगाह, प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले ७ बिगाह र प्रहरी निरीक्षक नेतृत्वको टोलीले दुईपटक ठूलो क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

चुरे तथा विकट क्षेत्रको नारायणखोलामा व्यापक मात्रामा गाँजाको खेती पाइएपछि प्रहरी टोली बारम्बार त्यहाँ पुगेर गाँजा फाडिरहेको छ ।