सगुनको २१ औँ साधारण सभाको उद्घाटन सत्र सम्पन्न, नेतृत्वमा सहमती जुटन सकेन्

हरिवन – सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको शनिवार २१ औँ वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका–९ नोंचामा रहेको सगुन शिक्षा सहकारीको प्राङ्गणमा साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरिएको हो । सभामा प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. सम्झना कुमारी काफ्ले पाण्डे, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल लगायतले मन्तव्य राखे ।

संस्थाका सचिव कमल बुढाथोकीको सञ्चालन, उपाध्यक्ष तारादेवी सुवेदीको स्वागत तथा कोषाध्यक्ष टमबहादुर घिसिङको धन्यवाद ज्ञापन मन्तव्यका बीच उद्घाटन सत्र समापन गरिएको संस्थाले जनाएको छ ।

प्रदेश २ कै ऐतिहासिक एवं ठूलो सगुन सहकारीले कोरोना भाईरसको संक्रमणकै बीच गत वर्ष १ अर्ब २८ करोड ९१ लाख ५० हजार ८०६ रुपैयाँ कुल कारोवार गरी ४ करोड १७ लाख ७६ हजार ४६५ रुपैयाँ खूद मुनाफा आर्जन गरेको प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।

यसैबीच, अध्यक्ष लगायत अन्य प्रमुख पदमा आकाक्षी धेरै देखिएपछि शनिवार नै सूरु भएको बन्द सत्रबाट नेतृत्व छान्न सकस परेको छ । सहमती जुट्न नसकेपछि शनिवार लाई बन्द सत्र स्थगित नै राखिएको छ ।

नेतृत्वका लागि दावेदारबीच समन्वय गर्न प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, हरिवनका मेयर गणेश प्रसाद प्रसाई र संस्थाका सचिव कमल बुढाथोकीको तीन सदस्यीय समिति गठन गरिएको छ । यो समितिले मुख्य पदका आकाक्षीबीच माघ २ गतेसम्म सहमती जुटाउन मध्यस्थता गर्ने, यदि सहमति नजुटेको खण्डमा निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको छ ।