हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिवार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले हरिवन नगरपालिका १ स्थित भोक्टेनीमा यसै शैक्षिक सत्रबाट सञ्चालन गरेको आवासिय विद्यालयको प्राङ्गणमा अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको हो ।
सभामा संस्थाले स्थापनाकालदेखि हालसम्म कुशलतापूर्वक व्यवस्थापकको भूमिका निर्वाह गरेका व्यवस्थापक कृष्णकुमार श्रेष्ठलाई स–सम्मान बिदाई गरेको छ भने बाल बचतकर्ता, असल ऋणी र असल बचतकर्ता एक÷एक जनालाई सम्मान गरेको छ । सो संस्थाले अघिल्लो आर्थिक वर्षमा झण्डै ४० करोड कूल कारोवार गरी १ करोड ३२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराईएको छ ।
सभामा मेयर प्रसाई, उपमेयर रेणुका पौडेल, नगरपालिकाको सहकारी विभागका प्रमुख एवं वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, नेकपाका नेता चूडामणि वाग्ले, तेक्वान्दोका प्रशिक्षक पूर्णबहादुर राना मगर, सहकारी बैंक हरिवन शाखाका प्रमुख सागर सापकोटा लगायतले मन्तव्य राखेका संस्थाले जनाएको छ ।