कांग्रेसले आज सर्लाहीका ८ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

मलंगवा – नेपाली कांग्रेस सर्लाहीले आज (शनिवार) केन्द्रिय कार्यक्रम अनुसार सर्लाहीका ८ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

असंवैधानिक किसिमले संघीय संसद् विघटन गरिएको विरोधमा आज दिउँसो प्रदर्शनको तयारी गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) मा चौलिखा बजार, (ख) मा नवलपुर, क्षेत्र नं. २ को (क) मा पर्सा गाउँपालिका, (ख) मा कौडेना, क्षेत्र नं. ३ को (क) मा हरिवन, (ख) मा चक्रघट्टा र क्षेत्र नं. ४ को (क) मा धनकौल र (ख) मा मधुवनीमा प्रदर्शन गर्न लागिएको हो ।

प्रदर्शन कार्यक्रमको नेतृत्व गर्न सबै ठाउँमा जिल्ला कार्य समितिले निर्णय गरेर प्रतिनिधि समेत खटाएको छ । ८ वटै स्थानमा ¥यालीसहित कोण सभा गरिने जिल्ला सभापति रायले बताए ।

आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले माघ ३ गते प्रत्येक पालिका र ८ गते सबै वडाहरुमा विरोध प्रदर्शन गर्नेछ । संसद् विघटनकै विरोधमा अहिले सत्ताधारी नेकपाको प्रचण्ड–नेपाल–खनाल समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले गाउँ–गाउँमा जनजागरण अभियान चलाईरहेको छ ।