सर्लाहीमा फेरि हुस्सु, चिसो बढ्यो

केही साताअघि लालबन्दी बजारस्थितको दृश्य । तस्बिर : (उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा बिहिवारबाट फेरि बाक्लो हुस्सु लाग्न थालेको छ ।

हुस्सु लागेर चिसो बढेपछि अतिविपन्न परिवार पुनः प्रभावित भएका छन् । दक्षिण भारतीय सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिकाका संचारकमर्मी अकलेश बैठाले बिहिवार बिहानैबाट चिसो बढेपछि ग्रामीण भेगको जनजीवन फेरि प्रभावित बनेको उज्यालोसँग बताए ।

चिसोले जिल्लाका झुप्रा बस्ती बढी प्रभावित हुने गरेका छन् । भित्री गाउँका धेरै गरिव परिवारसँग शरीर ढाक्ने न्यानो कपडा र रातीका लागि ताता सिरक, डस्ना छैनन् । बिहान–बेलुकाको छाक टार्न धउधउ पर्ने परिवार यो पुसको चिसोमा कठ्यांग्रिदै आगो ताप्न र पराल ओछ्याएर सुत्न बाध्य रहेका छन् ।

डाक्टरले चिसोसँगै अहिले धूलोको समेत अत्यधिक संक्रमण रहेकाले ख्याल गर्न सुझाव दिएका छन् । सदरमुकाम मलंगवास्थित स्तुती सौम्या हेल्थ केयरका डाक्टर गुणेश्वर झाले सर्लाहीको दक्षिणी भेगमा अधिकांश कच्ची सडकमा अहिले अत्यधिक धूलो उडिरहेकाले अनेकखाले स्वास्थ्य समस्या बढेको बताए ।

झाले त्यस्तो धूलो र अहिलेको चिसोले आँखा, घाँटी, फोक्सो लगायत शरीरका विभिन्न अंगमा गम्भीरखाले असर गर्ने भएकाले सकेसम्म धूलाम्मे सडकको यात्रा नगर्न, गर्नुपर्दा गुणस्तरीय मास्क लगाउन, शरीर ढाक्ने कपडा लगाउन सुझाव पनि दिएका छन् ।