ताईवानका ५३८ परिवारलाई राहत

राहत वितरण गर्दै मेयर गणेशप्रसाद प्रसाई, दलित अधिकारकर्मी राजाराम पासवान लगायत ।

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१० ताईवानमा बिहिवार ५३८ परिवारलाई राहत वितरण गरिएको छ ।

चुजी फाउण्डेसनले दलित सरोकार मंच सप्तरीसँग समन्वय गरी आर्थिक अवस्था कमजोर रहेका दलित र अन्य समुदायका मानिसलाई राहत वितरण गरेको हो । राहतमा एक परिवार बराबर २५ किलो चामल, १० किलो पिठो, दाल, चना, नुन र तेल एक÷एक किलो लगायतका सामग्री वितरण गरिएको राहत ल्याउन समन्वय गरेका दलित अधिकारकर्मी राजाराम पासवानले जानकारी दिए ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, वडाध्यक्ष शम्भु प्रसाद मैनाली, दलित सरोकार मंचका कार्यकारी निर्देशक भोला पासवान लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । फाउण्डेसनले यसअघि लालबन्दीको पुर्नवास, बरहथवाको गंगापुर, हरिपुरको लक्ष्मीपुर, रामनगर लगायतका स्थानमा अतिविपन्न तथा दलित परिवारलाई यस्तै प्रकारको राहत सामग्री वितरण गरेको थियो ।

उता ईश्वरपुर नगरपालिका ५ नरेशखोरमा बिहिवार बहुजन समाज परिषद् नेपालको नगर संयोजक जलेश्वर रामको प्रमुख आतिथ्यतामा भेला आयोजना गरी पचु पासवान संयोजक रहने गरी वडा समिति गठन गरिएको छ ।