मलंगवामा दुई जिल्ला हेर्ने गरी प्रदेशको इकाई कार्यालय स्थापना

कार्यक्रममा उपस्थित मन्त्री नवलकिशोर साह र अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)


मलंगवा – प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट सर्लाही र रौतहट जिल्लाको विकास निर्माण कार्यको सहजताका लागि इकाई कार्यालय स्थापना गरिएको छ ।

सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको परिसरमा स्थापना गरिएको सामाजिक विकास इकाई कार्यालयको वुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन् । इकाई कार्यालयबाट यि दुई जिल्लामा शिक्षा, स्वास्थ्य लगायत मन्त्रालयमार्फत गरिने कामहरुलाई सहज तथा प्रभावकारी ढंगले सञ्चालन गर्ने लक्ष्य लिइएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री साहले अघिल्ला वर्षहरुमा बजेट फ्रिज हुँदा धेरै काम अधूरै रहेकाले आगामी दिनमा त्यसरी रकम फिर्ता हुन नदिने गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, सामाजिक विकास मन्त्री साहले वुधबार नै सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालको समेत निरीक्षण गरेका छन् । जिल्लाकै ठूलो यस सरकारी अस्पतालले सरसफाईमा ध्यान नदिएको, उपकरणहरु भएपनि विभिन्न सेवा अवरुद्ध रहेको, सरकारले गरेको घोषणा बमोजिम निःशुल्क पाउनुपर्ने औषधि नदिएको जस्तो गुनासा चर्को रुपमा आउने गरेको छ । मन्त्री साहले अस्पतालको निरीक्षणका क्रममा त्यस्ता गुनासो समाधान गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।