हरिवनको फुटबलमा उपाधीका लागि भोली वडा नं. १० र ११ भिड्दै

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरीमा जारी प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. १० र ११ भिड्ने भएका छन् । शनिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा वडा नं. ७ लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. १० ले फाइनलमा वडा नं. ११ सँगको भेट पक्का गरेको हो । प्रतियोगितामा यसअघि शुक्रबार पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. ११ फाइनलमा प्रवेश गरेको थियो ।
यि दुईबीच फाइनल खेल भोली (सोमबार) हुने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए । न्यू हरिवन युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले २५ हजार र उपबिजेताले १५ हजार नगदसहित शिल्ड तथा मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सचित न्यासुर तामाङले जानकारी दिए ।