
सुखेपोखरी – सर्लाहीको हरिवनमा आज (आईतबार) बाट सूरु भएको नगर स्तरीय वडा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ११ विजयी भएको छ ।

हरिवन नगरपालिका–१०, सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता माविको खेल मैदानमा दिउँसो भएको खेलमा वडा नं. ८ लाई सुन्यका विरुद्ध एक् गोल गर्दै वडा नं. ११ विजयी भएको हो । वडा नं. ११ को जीतका लागि राज ठोक्करले एक मात्र निर्णायक गोल गरे । ठोक्करलाई नै म्यान अफ दि म्याच घोषित गरिएको आयोजक न्यू हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्कीले जानकारी दिए ।
कार्यक्रम संयोजक सचित तामाङका अनुसार भोली (सोमबार) बिहान वडा नं. १० र ४ तथा दिउँसो वडा नं. ५ र ९ बीच खेल हुनेछ ।
त्यसअघि क्लबका अध्यक्ष निरोज कार्कीको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । युवराज भण्डारीको सञ्चालन रहेको उद्घाटन समारोहमा वडाध्यक्षहरु शेख मेहबुब रेजा, शम्भु मैनाली, सिताराम पोखरेल, नेपाली कांग्रेसका नेता रामप्रसाद मैनाली, डोरप्रसाद भट्टराई, सोनी बम्जन, नेकपा नेता विदुर प्याकुरेल, फुटबल प्रशिक्षक सुमन तिलक सिन्दाली लगायतको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि उपमेयर पौडेलले खेलका अम्पायलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेकी थिईन् ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दावा लामाले विभिन्न खेल सामग्री समेत सहयोग गरेका आयोजक न्यू हरिवन युवा क्लबले जनाएको छ । लामाले झण्डै ५० हजार रुपैयाँ बराबरको जाली, झण्डा, फुटबल लगायतका सामग्री प्रदान गरेको क्लबका अध्यक्ष एवं नेपाली कांग्रेस हरिवनका सचिव कार्कीले जानकारी दिए । क्लबका अध्यक्ष कार्कीका अनुसार हरिवन निवासी कांग्रेस कार्यकर्ता एवं नेपाल तामाङ घेदुङका नेता सचित न्यासुर तामाङ मार्फत एन्फाका केन्द्रीय सदस्य लामाले क्लबलाई सहयोग उपलब्ध गराएका हुन् ।
सुखेपोखरी खेल मैदानमा हुने प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा हरिवन नगरपालिकाभित्रका सबै वडाले सहभागिता जनाउने अध्यक्ष कार्कीले बताए । प्रतियोगिता पुस १२ गतेसम्म संचालन हुनेछ ।